राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाइरहेको बताएका छन्।
उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क गरे।
नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको ‘इन्डष्ट्रि स्टाटस रिर्पोट’ को सार्वजनिक गर्दै उनले केन्द्रीय तथ्यांक विभागलाई पनि यथार्थमा आधारित तथ्यांक संकलनको काममा जोड दिन सचेत गराए। उपाध्यक्ष पौडेलले तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन भएको स्मरण गराउँदै त्यस काममा उद्योगी व्यवसायीहरुको पनि ध्यान जानुपर्नेमा जोड दिए।
उनले भने, ‘तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन हो। हुकुमी शासनमा मात्रै तथ्यांकहरुको जरुरी पर्दैन। तथ्यांकमा आधारित भएर काम गर्नु भनेको राम्रो हो। म तथ्यांक विभागलाई पनि बल गरेर तथ्यांकको काम गर्न आग्रह गर्दछु।’
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष सतिश मोरले उद्योग व्यवसाय सञ्चालनका लागि विद्युतमा लगाइएको महसुल दर घटाउन सरकारसँग माग गरे। उनले विद्युत महसुल घटाउने काम सरकारले गरे नेपालको निर्यात व्यापार समेत बढेर जाने स्पष्ट पारे।
पूर्वअध्यक्ष मोरले विद्युत महसुल सहुलियत दरमा सरकारले व्यवस्था गर्न नसक्दा नेपालले आयातित वस्तुमा निर्भर हुनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले उद्योगधन्दाहरु सञ्चालनका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने आवश्यक्ता औँल्याउँदै आएको छ। मुलुकको व्यापार घाटा कम गर्न र बेरोजगारी समस्या समाधान गर्न पनि सरकारले उद्योग व्यवसायमैत्री वातावरण निर्माणमा ढिलाई गर्न नहुने पूर्वअध्यक्ष मोरको भनाई थियो।
Shares

प्रतिक्रिया