कारोबार


बंगलादेशमा ५ मिलियन डलरको निर्यात हुँदा ९० मिलियन डलरको आयात

बंगलादेशमा ५ मिलियन डलरको निर्यात हुँदा ९० मिलियन डलरको आयात

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १८:२६, काठमाडौँ

नेपालको कूल व्यापारमा दक्षिण एशियामा बंगलादेश दोस्रो ठूलो व्यापार साझेदार रहेको तथ्यांकले देखाएको छ। 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा ५.७ मिलियन डलर बराबर निर्यात र बंगलादेशबाट ९०.६ मिलियन डलर बराबरको आयात गरेको हो।
यसरी हेर्दा दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ। 

भौगोलिक दूरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको व्यापारिक सम्बन्ध आशातीत रुपमा बलियो हुन नसकेको विषयमा छलफल गर्दै आगामी दिनमा यसलाई सुदृढ बनाउन दुवै पक्ष प्रतिबद्ध रहेको सो अवसरमा बताइएको थियो।

नेपालले हाल मसुरोको दाल, खाद्य प्रिपरेशन, गहुँको चोकर, रंगरोगनका सामग्री, वनस्पति तथा वनस्पतिजन्य वस्तुहरु लगायतका सामग्रीहरु निर्यात गर्दै आएको छ भने जुट, औषधि, विद्युतीय सामानहरु आयात गर्दछ। २०७८ असारसम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी ७४ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन्।

व्यापार घाटा कम गर्न तथा आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न उर्जा, पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड थियो। 

सो अवसरमा राजदूत सलाहुद्दिन नोमन चौधरीको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका अध्यक्ष गोल्छाले बंगलादेश कम विकसित मुलुकबाट स्तरोन्नतीको प्रकृयामा रहेकोले सो सम्बन्धी अनुभव नेपालको लागि उपयोगी हुुने बताए।

बंगलादेशले छोटो समयमा गरेको आर्थिक विकासको अध्ययन गर्न नेपाली व्यवसायीहरुको टोली स्थलमार्गबाटै भ्रमण गर्ने योजना रहेको बताउँदै अध्यक्ष गोल्छाले बंगलादेशसँग आर्थिक सम्बन्ध मजबुत  बनाउन नेपाली निजी क्षेत्र लालायित रहेकाले आर्थिक कूटनीति मार्फत सहयोग गर्न आग्रह गरे। साथै उनले व्यापार घाटालाई कम गर्न नेपालबाट उर्जा निर्यात बलियो स्रोत हुने बताए।

भेटमा राजदूतले द्विपक्षीय व्यापार बढ्न नसकेकाले यसलाई गम्भीरतापूर्वक लिई सम्भावनाका पाटाहरु खोज्नुपर्ने बताए। उनले द्विपक्षीय लगानी सम्झौता हुनुपर्नेमा जोड दिए। स्थलमार्गका साथसाथै हवाई मार्गबाट पनि नेपालको विराटनगर विमानस्थल र बंगलादेशको विमानस्थलबीच सिधा हवाइसेवा सञ्चालन गर्न सकिने सम्भावना औँल्याए।

साथै उनले आफ्नो तर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुवै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाए।

भेटवार्तामा महासंघका उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई तथा कार्यकारिणी समिति सदस्य एवं व्यापार समिति सभापति विजयसिंह वैधको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad