कारोबार


सुन आयातमा कडाइ गर्दै सरकार, ५० हजार डलरमाथिका गाडीमा पनि प्रतिबन्धको तयारी

सुन आयातमा कडाइ गर्दै सरकार, ५० हजार डलरमाथिका गाडीमा पनि प्रतिबन्धको तयारी

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १८:१८, काठमाडौँ

सरकारले महंगा र विलासी वस्तु आयातमा कडाइ गर्ने भएको छ। 

यसअन्तर्गत सुनसहित ५० हजार डलरभन्दा माथिको गाडी आयातमा प्रतिबन्ध लगाउन लागिएको हो। 

कुल विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै सरकारले सुन र महंगा गाडी आयातमा कडाइ गर्ने योजना बनाएको हो। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हालिरहेका छन्। मन्त्रालयले यी वस्तुको आयातमा कडाइ गर्नुपर्ने ब्रिफिङ गरिसकेको छ। वाणिज्य सचिव दिनेश भट्टराईले नै यसबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका हुन्। 

योसँगै अब सरकारले यी दुवै वस्तुमा कडाइ गर्ने निर्णयको तयारी गरिरहेको मन्त्रालय स्रोतले नेपालखबरलाई जानकारी दियो। 

व्यापारघाटा बढिरहेको र त्यसले मुद्रा सञ्चितिमा समेत असर देखिनथालेकाले दुवै वस्तु आयातमा कडाइ गर्नुपर्ने निष्कर्ष मन्त्रालयले निकालेको हो। 

पछिल्लो समय विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा समेत कमी आएको छ। नेपाल राष्ट्र बैंककै पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १८.१ प्रतिशतले घटेको छ।

चालू आवको १ महिनामा ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो। 

सोही कारण विदेशी मुद्रा सञ्चितिमा दबाब परेको छ। यसैलाई मध्यनजर गर्दै सरकारले विलासी वस्तु आयातमा कडाइ गर्नलागेको हो। 

गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले कमी आई साउन मसान्तमा १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको छ। यसरी कमी आउनुमा मुख्य कारण रेमिट्यान्स नै  रहेको सरकारको ठम्याइ छ। 

नेपालको वस्तु आयात रेमिट्यान्सले नै धानिरहेको र रेमिट्यान्स आप्रवाहमा कमी आएपछि सरकारले वस्तु आयतमा कडाइ गर्न योजना बनाएको हो। 

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ साउन मसान्तमा ३.१ प्रतिशतले कमी आई १२ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ। 

२०७८ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.२ प्रतिशत रहेको छ। 

आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.३ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने रहेको छ।

अन्तर्राष्ट्रिय मापदण्डमा भने छ महिनाभन्दा माथिको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेमा त्यसलाई स्वस्थकर नै मानिन्छ।

सुनको कोटा घटाउने तयारी 
यसैबीच, सरकारले सुन आयातको कोटा समेत घटाउने तयारी गरिरहेको छ। अहिले नेपालमा सुनको खपत घटिरहेको सरकारी मूल्याङ्कन छ। 

अहिले नेपाल राष्ट्र बैंकले सुन आयातको जिम्मेवारी वाणिज्य बैंकहरुलाई दिइरहेको छ। 

वाणिज्य बैंकहरुले व्यवसायीलाई दिनमा २० किलो सुन उपलब्ध गराउँछन्। 

सोहीअनुसार अहिले दैनिक २० किलो सुन बजारमा कारोबार हुँदै आइरहेको छ। 

कोरोना र गत वर्षको लकडाउनको समयमा सुनको कोटा १० केजीमा झारिएको थियो।  

तर पुनः २०७७ चैतमा २० केजी नै बनाइएको थियो।  

अहिले बजारमा सुन खपत घटेको ठहर गर्दै सरकारले यो परिमाण घटाउनलागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad