ad ad

कारोबार


३० वर्ष अटो क्षेत्रमा बिताएका दीपक थापा भन्छन्ः अबको भविष्य विद्युतीय गाडी

३० वर्ष अटो क्षेत्रमा बिताएका दीपक थापा भन्छन्ः अबको भविष्य विद्युतीय गाडी

दीगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत दीपक थापा । तस्बिर : विजय सिंह


वसन्त अर्याल
असोज ११, २०७८ सोमबार ६:४९, काठमाडौँ

दीपक थापा ३० वर्षअघि मारुती कम्पनीबाट अटो क्षेत्रमा प्रवेश गरे। 

उनी अटो क्षेत्रमा लाग्दै गर्दा यसको भविष्य कता जाला भन्ने अड्कल काट्ने अवस्था थिएन। 

तर समय धेरै अघि बढिसकेको छ। उनै थापा अब भने अटो क्षेत्रको भविष्य नै विद्युतीय गाडी हो भन्न थालेका छन्। 

अटोमोबाइल्स क्षेत्रमा तीन दशक लामो समय बिताएका थापा अहिले विद्युतीय गाडीको कारोबार गर्छन्। 

नाडामा ६ कार्यकाल बिताएका थापा महासचिव भएर बाहिरिएका थिए। 

उनले नाडामा १२ वर्ष बिताउँदा नीतिगत समस्याको विषयमा ज्ञान हासिल गरेको बताए।

थापा अहिले दीगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत छन्। यो ग्रुपले नेपालमा विद्युतीय कारदेखि बससम्म बिक्री गर्दै आएको छ। 

अटो क्षेत्रमा भर्खर हुर्किरहेको पाहुना हो विद्युतीय गाडी। थापा अब विद्युतीय गाडी नै अटो क्षेत्रको भविष्य रहेको बताउँछन्। 

उनका अनुसार नेपालजस्तो देशमा समेत विद्युतीय गाडीको बजार बढ्दै गएको छ। विस्तार भइरहेको छ। 

अब त कार मात्रै नभई सार्वजनिक यातायात समेत विद्युतीय साधनमा प्रवेश गरिसकेको बताउँछन् थापा। 

देशभर विद्युतीय सवारीसाधनको सेवा विस्तार गर्दै
अधिकांश विद्युतीय गाडी बिक्रेता काठमाडौंमा केन्द्रित हुँदा थापाको कम्पनी दीगोले देशभर विद्युतीय सवारीसाधनको सेवा विस्तार गरिरहेको छ। दीगोका भ्यान (११ र २० सिटे) सार्वजनिक यातायातको रुपमा चल्न सुरु गरेका छन्। 

‘काठमाडौंदेखि सिन्धुली र सुदूरपश्चिमको धनगढीदेखि महेन्द्रनगरसम्म दीगोका भ्यान चलिरहेका छन्’, थापाले नेपालखबरसँग भने, ‘नेपालगञ्जदेखि सुर्खेतसम्म विद्युतीय भ्यान सञ्चालनको लागि बुकिङ भइसकेका छन्।’

दीगोले केही समयअघि मात्रै सिन्धुलीको मूलकोटमा चार्जिङ स्टेसन राखेको छ। बीपी राजमार्गमा चल्ने विद्युतीय गाडीले यसको प्रयोग गर्न सक्ने उनी बताउँछन्। 

काठमाडौं–भरतपुर, काठमाडौं–पोखरा विद्युतीय गाडी सञ्चालनको लागि ग्रुप अहिले पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेसन राख्ने तयारीमा छ। 

‘हामी विद्युतीय गाडी मात्रै बिक्री गर्दैनौँ’, सीईओ थापा भन्छन्, ‘गाडीसँगै चार्जिङ स्टेसनलगायतका पूर्वाधारमा पनि लगानी गरिरहेका छौँ।’

मारुतीसँगै आइचर गाडीमा लामो समय बिताएका थापा विद्युतीय सार्वजनिक यातायात बढाउने आफ्नो मुख्य ध्यान रहेको बताउँछन्।  

सार्वजनिक यातायातको रुपमा विद्युतीय माइक्रो बजारमा ल्याइसकेको दीगोले अब विद्युतीय बसलाई प्राथमिकता दिने उल्लेख गरेको छ।

‘काठमाडौं–पोखरा र काठमाडौं– भरतपुरमा विद्युतीय बस सञ्चालन गर्न सकिने देखिएको छ’, उनले भने, ‘कुरिनटारमा चार्जिङ स्टेसन राख्दा काठमाडौंबाट पोखरा र भरतपुर बस चलाउन सकिन्छ।’

दीगोले बिक्री गर्दै आएको चिनियाँ सीएचटीसीका विद्युतीय बस साझा यातायातले खरिद गर्ने भएको छ। साझाले टेन्डर आह्वान गरी ४० वटा विद्युतीय बस खरिदको लागि सीएचटीसीलाई छनोट गरेको हो। 

‘साझाका विद्युतीय बस ५ वर्षसम्म हामीले नै मर्मतसम्भार गर्ने सम्झौता रहेको छ’, उनले भने, ‘दीगोका विद्युतीय बस त्रिभुवन विमानस्थलभित्र सञ्चालनको लागि गुण एयरलाइन्सले खरिद गरेको छ।’

विद्युतीय गाडीमा कर फिर्तासँगै फेरि उत्साह
सरकारले बढाएको कर फिर्तासँगै विद्युतीय गाडीमा फेरि उत्साह थपिएको थापा बताउँछन्। 

‘सरकारले अघिल्लो वर्ष विद्युतीय गाडीमा कर नबढाएको भए धेरै विद्युतीय गाडी आइसक्थे’, उनी भन्छन्, ‘अहिले फेरि बढाएको कर घटाएको छ। यसले विद्युतीय गाडीमा उत्साह थपिएको छ।’

दीगोले ई८को विद्युतीय कार ५० भन्दा बढी बिक्री गरिसकेको छ। ई९ ल्याउने योजना रहेको छ। इन्धनको गाडीको तुलनामा विद्युतीय गाडीमा ‘रनिङ कस्ट’ एकदमै रहेको छ। 

‘काठमाडौं–मूलकोट करिब १०० किलोमटरको दूरी छ। सय किलोमिटरको दूरीमा १०० रुपैयाँ बिजुली खर्च आउँछन्। उक्त रुटमा ५ वटा गाडी गुडिरहेका छन् थप ५ वटा थप हुँदै छन्’, थापा भन्छन्।

दीगोको चितवन र बुटवलमा डिलर छ। डिलरमा इलेक्ट्रिक इन्जिनियर अनिवार्य हुनुपर्ने शर्त राखिएको छ। कम्पनीले देशभर थप डिलर माग गरेकोमा १०० बढी आवेदन परेका छन्। कम्पनीले क–कसलाई दिने भन्ने विषयमा छलफल गरिरहेको जनाएको छ।    

इन्धनबाट चल्नेगाडीमा इन्जिन आयल, लुब्रिकेन्ट्स, फिल्टर परिवर्तन गरिरहनुपर्छ तर विद्युतीय गाडीमा कम्तीमा ५ वर्ष ब्याट्री र मोटरको चिन्ता गर्नु नपर्ने थापा बताउँछन्। 


  
सरकारी निकायबीच समन्वय नहुँदा समस्या 
यातायात कार्यालयले नेपालमा विद्युतीय गाडी छ भनेर चिन्दैन। काठमाडौंका यातायात कार्यालयले विद्युतीय माइक्रोबस दर्ता गर्ने नमान्ने थापा बताउँछन्। 

काठमाडौं–सिन्धुली चल्ने विद्युतीय गाडी भरतपुर, जनकपुरमा दर्ता भएर सञ्चालन गर्नुपरेको उनको गुनासो छ। 

‘काठमाडौं–सिन्धुली, महेन्द्र–धनगढी विद्युतीय माइक्रो चलाउन यातायात कार्यालयले दर्ता गर्नै मानेनन्’, थापा भन्छन्, ‘कस्तो गाडी हो हामीलाई थाहा छैन् भन्छन्।’

सरकारले विद्युतीय गाडीसम्बन्धी स्पष्ट नीति बनाउन नसक्दा सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न समस्या रहेको बताए। 

‘सरकारले विद्युतिय गाडी सञ्चालन गर्नको लागि करमा छुट दिएको छ। तर त्यही गाडी सञ्चालन गर्न खोज्दा नेपाली कानुनले चिन्दैन’, थापाले भने, ‘उकालो चढ्छ÷चढ्दैन भन्नेबाहेक केही मापदण्ड छैन।’

सरकारले चार्जिङ स्टेसन निर्माण नगर्दा समस्या भएको व्यवसायीले बताउँदै आएका छन्। विद्युत् प्राधिकरणले ५० वटा चार्जिङ स्टेसनको लागि सम्झौता गरेको छ। थप ५०० निर्माण गर्ने घोषणा गरेको छ।

‘सबै ठाउँमा व्यवसायी आफैँले चार्जिङ स्टेसन निर्माण गर्न सक्दैनन्। सरकारले सहयोग गर्नुपर्छ’, उनी भन्छन्, ‘विद्युतीय गाडीको लागि ठाउँ ठाउँमा चार्जिङ स्टेसन मात्रै राखेर हुँदैन। चार्जिङ स्टेसनसँगै रेष्टुरेन्ट वा होटल आवश्यक हुन्छ। सबै ठाउँमा एउटै कम्पनीले चार्जिङ स्टेसन निर्माण गर्न सक्दैन।’

यस्ता छन् दीगोले बिक्री गर्ने गाडी
दीगो मल्टी ब्रान्ड कम्पनी हो। सीएचटीसीका विद्युतीय बस, ज्याक कम्पनीको पिकअप, डीएफएसकेको भ्यान ल्याईसकेको छ भने सेनेर एसयुभी छिट्टै ल्याउँदै छ। 

दीगोले ई८ विद्युतीय कार बिक्री गर्दै आएको छ। एकपटकको चार्जमा १५० किमि गुड्छ। ५ घण्टामा गाडी फुल चार्ज हुने कम्पनीले जनाएको छ। 

गाडीमा १४.८ किलोवाट आवर, १५ किलोवाटको मोटर रहेको गाडीमा ५ सिट रहेको छ। उक्त गाडीको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ। सहरी यातायातकोलागि ई ९ विद्युतीय कार ल्याएको छ। 
 
त्यस्तै दीगो ईएम ३ को विद्युतीय भ्यान नेपाल भित्र्याएको छ। कम्पनीले ५ सिट क्षमताको भ्यानमा २५० देखि ३५० सम्मको रेन्ज, ३० र ४० किलोवाट पावरको मोटर रहेको छ। 

विद्युतीय माइक्रोबसको रुपमा दीगो ई ६ उपलब्ध छ। एक पटकको चार्जमा २१० किमि गुड्ने गाडीमा २० जनाको बोक्नसक्ने क्षमता छ। ई ६ फास्ट चार्जरबाट २ घण्टामै फुल चार्ज हुन्छ। गाडीमा ७८ किलोवाट आवरको ब्याट्री, ११० किलोवाट पिक पावरको मोटर, ग्राउन्ड क्लियरेन्स १८० एमएम छ। 

त्यसैगरी ११ सिटे (माइक्रो) दीगो डाँफे पनि बिक्री गर्दै आएको जनाएको छ। २५० किमि रेन्ज भएको डाँफेमा ४२ किलोवाट आवरको ब्याट्री, ६० किलोवाट आवरको ब्याट्री र ग्राउन्ड क्लियरेन्स १८८ एमएम छ। १ घण्टा ३० मिनेटमा डाँफे फुल चार्ज हुने कम्पनीले जनाएको छ।

दीगोले विमानस्थलमा प्रयोग हुने बस, विद्यालय बस र भ्यान ल्याउने योजना रहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .