ad ad

कारोबार


नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न चार जनाको दौडधूप

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न चार जनाको दौडधूप

वसन्त अर्याल
असोज ४, २०७८ सोमबार २१:२६, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणमा नयाँ महानिर्देशकको लागि दौडधूप सुरु भएको छ। 

हालका महानिर्देशक राजन पोखरेलले अनिवार्य अवकाश पाउने भएपछि ४ जना महानिर्देशकको दौडमा छन्। 

जसमा ३ जना १२औँ तहका छन् भने एक जना ११औँ तहका हुन्। १२औँ तहमा ६ जना रहेकोमा देवानन्द उपाध्याय र नरेन्द्र बहादुर थापाले भर्खरै अवकाश लिइसकेका छन्। 

राजन पोखरेलले हप्ता दिनभित्रै अवकाश पाउँदै छन्। 

अब राजकुमार क्षेत्री, भोला गुरागाईं र प्रतापबाबु तिवारी नयाँ महानिर्देशक बन्ने दौडमा परेका छन्। 

राजकुमार क्षेत्री कर्पोरेट निर्देशनालयको जिम्मेवारीमा छन् भने भोला गुरागाईं हवाइ सुरक्षा निर्देशनालयमा छन्। प्रतापबाबु तिवारी त्रिभुवन विमानस्थलका महाप्रबन्धक छन्। 

प्राधिकरणको आठौँ तहबाट सिधै ११औँ तहमा प्रतिस्पर्धाबाट पुगेका इन्जिनियर प्रदीप अधिकारीले समेत महानिर्देशकको दाबी गरेका छन्। 

महानिर्देशकको नियुक्ति मन्त्रिपरिषदले गर्छ। हाल उड्डयन मन्त्रालय प्रधानमन्त्रीले नै हेर्दै आएकाले केही आकांक्षी प्रधानमन्त्री निकट व्यक्तिहरुसँग महानिर्देशकको लागि ‘बार्गेनिङ’ गरिरहेको प्रधामन्त्री कार्यालय स्रोतले जनाएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणमा २ वटा ठूला टुंग्याउनैपर्ने मुद्दा छन्। एउटा युरोपियन युनियनको कालोसूचीबाट नेपाललाई हटाउने नेतृत्व गर्ने आवश्यकता छ। 

त्यसका लागि प्राधिकरणलाई व्यवस्थापकीय र नियमनकारी निकाय अलग अलग हुने गरी टुक्राउनुपर्नेछ। 

अर्को भनेको प्राधिकरणका कर्मचारी केही समययता विरोधमा रहेकाले उनीहरुलाई विश्वासमा लिनुपर्नेछ। 

त्यसबाहेक पोखरा र भैरहवा विमानस्थललाई तत्काल सञ्चालनमा ल्याउनुपर्नेछ। 

हालका उपमहानिर्देशक क्षेत्रीले आफू सबैभन्दा सिनियर भएकाले महानिर्देशक बन्नुपर्ने बताउँदै आएका छन्।

उड्डयन मन्त्रालय स्रोतका अनुसार क्षेत्रीले ३४ वर्ष सेवा गरेकाले निमित्त महानिर्देशक भए पनि पाउनुपर्ने दाबी गरेका छन्। उड्डयनमन्त्री नभएकाले निमित्त महानिर्देशक मन्त्रालयका सचिवले नै तोक्न सक्छन्। 

यसअघि त्रिभुवन विमानस्थलको महाप्रबन्धक बनिसकेका क्षेत्रीको सेवा अवधि अब ३ महिना मात्रै बाँकी छ।  

क्षेत्री र गुरागाईंको सेवा अवधि कम भएकाले उनीहरुले बढी जोड गरेका छैनन्। 

यता अर्का दाबेदार ई. प्रदिप अधिकारीले महानिर्देशक भएपछि विमानस्थलहरुको पूर्वाधार निर्माणमा तीव्रता दिनसक्ने सन्देश प्रधानमन्त्रीकहाँ पठाउने गरेका छन्। 

देउवा सरकारकै पालामा पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सक्ने दाबी उनले प्रस्तुत गरेका छन्।

‘सिनियरको रुपमा आफू हुनुपर्ने दाबी क्षेत्रीको छ भने अधिकारीले   विमानस्थल सञ्चालन गर्न सहयोग पुर्याउने हिसाबले बढी लबिङ गरिरहेका छन्’, उड्डयन मन्त्रालयका एक अधिकारीले भने, ‘१२औँ तहमा तिवारीको अवधि धेरै भएकाले उनी बलियो दाबेदार हुन्।’

१२औँ तहमा बढुवापछि प्राधिकरणमा ६ वर्षसम्म सेवा गर्न पाउँछन्। क्षेत्रीको ३ महिना र गुरागाईंको ४ महिना बाँकी छ। 

प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले आफ्नो दाबेदारी स्वाभाविक भएको प्रतिक्रिया जनाएका छन्।

‘म ३४ वर्ष हवाइ क्षेत्रमा बिताएको छु। अब सबैभन्दा सिनियर मै हुँ । मैले महानिर्देशकमा दाबी गर्नु स्वाभाविक हो’, क्षेत्रीले नेपालखबरसँग भने, ‘त्रिभुवन विमानस्थल बुटिक बनउनेदेखि विराटनगर र भरतपुर विमानस्थल सुधारको लागि काम गरेको छु।’

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आफू १२औँ तहमा रहेकाले महानिर्देशकको दावेदारी उपयुक्त भएको बताए। 

‘१२औँ तहमा बढुवा भएको १ वर्ष पुगेको छैन। अझै ५ वर्ष सेवा गर्न पाउँछु’, तिवारीले भने, ‘मन्त्रिपरिषदले नियुक्त गर्ने भएकाले उहाँहरुलाई को उपयुक्त लाग्छ जिम्मेवारी दिनुहोला।’

निर्देशकको रुपमा रहेका ई. प्रदिप अधिकारीले युवालाई जिम्मेवारी दिँदा प्राधिकरणका कामले तीव्रता पाउने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .