कारोबार


लामोदूरीकाे अग्रिम टिकट बिक्री असोज दोस्रो साताबाट, कहाँको भाडादर कति?

लामोदूरीकाे अग्रिम टिकट बिक्री असोज दोस्रो साताबाट, कहाँको भाडादर कति?

फाइल तस्बिर

सरकारले असोज दोस्रो साताबाट लामोदूरीको यातायातमा अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ। 

यातायात व्यवसायी र यातायात व्यवस्था विभागले असोज दोस्रो साताबाट अग्रिम टिकट बिक्री खुलाउने सहमति गरेका हुन्। 

यो वर्षको दशैँ आउन अब करिब १ महिना बाँकी छ। असोज २१ गते घटस्थापना रहेको छ भने २९ गते विजयादशमी छ। 

यातायात व्यवसायीले घटस्थापनादेखि नै सहर छाडी गाउँ जानेको संख्या बढ्ने बताएका छन्। व्यवसायीले सरकारसँग समन्वय गरी यात्रुको व्यवस्थापनको लागि अग्रिम टिकट बुकिङ गर्दै आएका छन्। 

‘व्यवसायीसँग छलफल भइसकेको छ। व्यवसायीलाई अग्रिम बुकिङको लागि तयारी गर्न भनेका छौँ’, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले नेपालखबरसँग भने, ‘असोज ५/६ गते निर्णय गर्छौँ।’

महानिर्देशक घिमिरेले असोज दोस्रो हप्तादेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने व्यवसायीसँग सहमति भए पनि मिति तय नभइसकेको बताए। 

‘व्यवसायीसँग अग्रिम टिकट खोल्ने विषयमा सहमति भए पनि मिति तय भएको छैन। ५/६ गते एउटा बैठक बसी मिति तय गर्छौँ’, घिमिरेले भने। 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँमा यात्रुअनुसारको व्यवस्थापन हुने बताए। 

‘कोभिड महामारीको कारण अझै यात्रु पाउन सकिएको छैन’, महासचिव सिटौलाले भने, ‘अहिलेको तुलनामा यात्रुको संख्या बढ्ने देखिए पनि बढी चाप नहुन सक्छ।’

उनले सामान्य अवस्थाको तुलनामा ३० देखि ४० प्रतिशत मात्रै यात्रुको संख्या रहेको बताए। सिटौलाले अहिलेको अवस्थामा दोब्बर यात्रु नै भए पनि व्यवस्थापन गर्न सकिने बताए।

‘अहिले त कसरी बाँच्ने भन्ने नै छ। दशैँमा यात्रुको संख्या बढ्छ’, उनले भने, ‘तर कोभिड महामारीको डर कायमै रहेकाले पहिलाका सामान्य वर्षमा जस्तो यात्रु बढी हुँदैनन् कि!’

सिटौलाले गत वर्षभन्दा केही यात्रुको संख्या बढ्नसक्ने भए पनि गाडी धेरै थप्नु नपर्ने बताए। यातायात व्यवसायीले प्रायः दशैँ तिहारमा ठूला बस भित्र्याउने गरेका थिए। 

‘नयाँ बस अलिअलि थपिँदै छन्। धेरै आउँदैनन्’, उनले नेपालखबरलाई भने, ‘निर्बाध यातायात चल्ने सुनिश्चित भएपछि विस्तारै नयाँ बस थपिँदै जान्छन्।’

साउनकै भाडादर
यसैबीच, यातायात व्यवस्था विभागका महानिर्देशक घिमिरेले साउनमा बढेकै भाडा दरअनुसार अग्रिम टिकट बुकिङ हुने बताएका छन्।

‘हामीले साउन १ बाटै लागू हुने गरी लामोदूरीको भाडा समायोजन गरिसकेका छौँ’, घिमिरेले भने, ‘दशैँ तिहारमा भाडा बढ्दैन, त्यही लागू हुन्छ।’

यातायात व्यवसायीले इन्धनको मूल्य बढेको, महंगी बढेको कारण छोटो तथा मध्यम दूरीको यातायातमा समेत भाडा बढाउनुपर्ने भन्दै आन्दोलन गर्दै आएका छन्। 

विभागले छोटो तथा मध्यमदूरीको भाडा हेरफेर प्रदेश सरकारको मातहत भएको उल्लेख गरेको छ। विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारीसाधनको मात्रै भाडा बढाउनसक्ने उल्लेख गरेको छ। 

सरकारले साउनमा २८ प्रतिशत भाडा बढाएको थियो। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरेको हो। 

सरकारले यसअघि सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो। 

हाल त्यसलाई परिवर्तन गरी यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्यवृद्धिको आधारमा भाडावृद्धि गरेको हो। 

भदौ ३१, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .