ad ad

कारोबार


२५ बहुराष्ट्रिय कम्पनीले एकै वर्षमा लगे २८ अर्ब

२५ बहुराष्ट्रिय कम्पनीले एकै वर्षमा लगे २८ अर्ब

दीपक भट्ट
भदौ १९, २०७८ शनिबार ९:४५, काठमाडौँ

नेपालमा लगानी गरेका विदेशी कम्पनीले कोरोना कहरमा पनि राम्रै नाफा कमाएका छन्। त्यसबापतको अधिकांश रकम उनीहरुले विदेश लगेको पाइएको छ। 

गत वर्षको साउनदेखि यो वर्षको असारसम्म अर्थात् आर्थिक वर्ष २०७७/०७८ मा विदेशी कम्पनीले २८ अर्बभन्दा बढी रकम लगेका हुन्।

व्यवसाय गरेबापत भएको नाफा लैजान पाउने नेपालको कानुनी व्यवस्थाअनुसार नै उनीहरुले उक्त रकम विदेश लगेको उद्योग विभागले जनाएको छ। 

विभागको तथ्यांकअनुसार रोयल्टी, लाभांश तथा सेयर बिक्रीमार्फत नेपालबाट २५ वटा कम्पनीले २८ अर्ब ३ करोड ४८ लाख ५५ हजार ४ सय ५० रुपैयाँ ३१ पैसा विदेश लगेको देखिएको हो। 

रोयल्टीबापत मात्रै एकै वर्ष नेपालबाट ७९ पटक कम्पनीहरुले विदेशमा रकम लगेका छन्। 

एनसेल, गोर्खा ब्रुअरीजस्ता बहुराष्ट्रिय कम्पनीले एकै वर्षमा पटक–पटक रोयल्टी लगेको तथ्यांकमा देखिएको छ। रोयल्टीमार्फत नै यी  विदेशी लगानीकर्ताले एक वर्ष अवधिमा २ अर्ब १४ करोड ६४ लाख ९८ हजार १ सय ३८ रुपैयाँ ६ पैसा लगेका छन्। 

त्यस्तै सेयर लाभांश तथा सेयर बिक्रीमार्फत २५ अर्ब ८८ करोड ८३ लाख ५७ हजार ३ सय १२ रुपैयाँ २५ पैसा विदेश लगेका छन्। 

नाफाबापतको रकम विदेश लैजाँदा १५ प्रतिशत कर लाग्छ। विदेश लैजान सरकारले स्वीकृत गरेको यो रकम करसहितको हो।  

कसले कति लगे? 
नेपालमा गरेको व्यवसायबाट निस्केको नाफा सबैभन्दा धेरै सूर्य नेपालबाट बाहिरिएको तथ्यांकले देखाएको छ। 

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सूर्य नेपालबाट ३ अर्ब रुपैयाँ विदेशिएको छ। 

त्यस्तै गोर्खा ब्रुअरीबाट १ अर्ब ७२ करोड, एनसेलबाट १ अर्ब १९ करोड, युनिलिभरबाट १ अर्ब, मर्स्याङ्दी हाइड्रोबाट ४० करोड ८५ लाख रुपैयाँ विदेशिएको छ। बाँकी रकम अन्य कम्पनीबाट विदेशिएको विभागले जनाएको छ। 

यस्तो छ नाफा लैजाने व्यवस्था 
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०५७ को दफा २० को उपदफा २ बमोजिम कम्पनीको साधारणसभाले लाभांश वितरण गर्ने निर्णय  प्रतिलिपि, सञ्चालक समितिको निर्णयको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन, करचुक्ता, कर कार्यालयमा पुँजीगत लाभकर तिरेको रसिद, लाभांश लैजाँदा लाग्ने कर तिरेको रसिद, सञ्चालक लागतको विवरण, कम्पनी दर्ता, नियमावली, प्रबन्ध पत्र पेश गरेको खण्डमा उद्योग विभागले विदेशी लगानीकर्तालाई रकम लैजान स्वीकृति प्रदान गर्छ। 

सोबमोजिम नेपाल राष्ट्र बैंकसँग जुन मुद्रामा विदेश रकम जाने हो, त्यसको सहमति लिएर विदेश पैसा लाने प्रक्रिया अपनाउन सकिन्छ।

त्यस्तै सेयर बिक्रीमार्फतको रकम लानको लागि कम्पनीको कर्जा कालोसूचीमा नरहेको प्रमाणपत्र समेत आवश्यक पर्छ।

सोही प्रक्रियामार्फत नेपालबाट करसहितको २८ अर्बभन्दा बढी रकम एकै वर्षमा बाहिरिएको हो। 

विदेशिने रकम सधैँ एकैनास हुँदैन : श्रेष्ठ
नेपालबाट विदेशिने रकम एकैनासको नहुने गरेको उद्योग विभागका विदेशी लगानी शाखा प्रमुख सुरेश श्रेष्ठ बताउँछन्। 

उनका अनुसार केही कम्पनीले दुई/तीन वर्षको लाभांश एकैपटक लाने गर्छन्। केहीले एकै वर्षका लाभांश वा रोयल्टी पनि पटक–पटक गरेर स्वीकृति माग गर्ने गरेका छन्। 

सोही कारण नेपालबाट विदेशिएको एक वर्षको एकमुष्ठ रकमलाई आधार मानेर नेपालबाट नाफा कमाएर नै यति रकम विदेशिन्छ भन्ने आकलन गर्न गाह्रो हुने उनको भनाइ छ। 

केही विदेशी कम्पनीले भने यहाँ कमाएको नाफालाई पुर्नलगानी समेत गर्ने गरेका छन्। 

‘त्यसकारण विदेश पैसा लान स्वीकृति पाएकै आधारमा विदेशी लगानीको नेपालमा अवस्था राम्रो वा नराम्रो रहेको भनेर विश्लेषण गर्न सकिँदैन’, श्रेष्ठ भन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .