ad ad

कारोबार


विद्युत् खरिदबिक्री सम्झौताको पर्खाइमा ७ हजार मेगावाट क्षमताका आयोजना

विद्युत् खरिदबिक्री सम्झौताको पर्खाइमा ७ हजार मेगावाट क्षमताका आयोजना

उजिर कार्की
भदौ १६, २०७८ बुधबार १८:४३, काठमाडौँ

नेपालका ७ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) को पखाईमा बसेका छन्।  

निजी क्षेत्रका जलविद्युत् आयोजनाहरु पीपीएको पर्खाइमा रहेका हुन्।

नेपाल विद्युत् प्राधिकरणले नै सबै जलविद्युत् आयोजनाको खरिदबिक्री सम्झौता नगरेको हो। 

प्राधिकरणले आफूले चाहेको आयोजनाको पीपीए गर्ने र नचाहेकोे नगर्ने भनेर ‘सेलेक्टिभ’ हुँदा समस्या भएको स्वतन्त्र ऊर्जा उत्पादक संघका निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए। 

उनले भने, ‘सरकारले योजनाबद्ध रुपमा नै पीपीए दिइरहेको छैन।’

तर प्राधिकरणले भने पीपीएलाई पारदर्शी बनाउनुपर्ने र पीपीए गर्दा सजग हुनुपर्ने बताउँदै आएको छ। 

पीपीएलाई नयाँ मोडलमा लैजानुपर्ने र आवश्यक छलफल गरेर यसमा अगाडि बढ्ने प्राधिकरणको भनाइ छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अनुसार हाल ७ हजार मेगावाट बराबरका आयाजनाहरु विद्युत् विकास विभागबाट स्वीकृति लिई पीपीएको पर्खाइमा छन्।  

पीपीए नहुँदा अहिले ती आयोजना अलपत्र अवस्थामा छन्। प्राधिकरणले यी आयोजनाको अविलम्ब पीपीए गर्नुपर्ने इप्पानको माग छ। 

प्राधिकरणले सम्झौतामा उल्लेख भएअनुसार व्यापारिक उत्पादन थाल्न, वित्तीय व्यवस्थापन गर्न र उत्पादनको अनुमतिपत्र बुझाउन कोभिडका कारण समस्यामा परेका आयोजनाका लागि म्याद भने थपिदिएको बताएको छ। 

आयोजना प्रवर्द्धकहरुको मागअनुसार यो निर्णय भएको प्राधिकरणले दाबी गरेको हो। 

महामारीले के प्रभाव परेको छ भन्ने जानकारी मागेको छ। 

सम्बद्ध आयोजनाहरुले तोकिएको ढाँचामा अवस्थाको जानकारी पठाएपछि मूल्यांकनसहित थपिएको प्राधिकरणले बताएको छ।  

अहिले सरकारले निजी क्षेत्रको पीपीए रोक्दा सरकारको योजनामा नै ठेस लाग्ने निजी क्षेत्रको भनाइ छ। 

पीपीएको लागि निजी क्षेत्रको ठूलो दबाब भएपछि गत वर्ष विद्युत् नियमन आयोगले हजार मेगावाट बराबरका जलविद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौता (पीपीए) र वित्तीय व्यवस्थापनका लागि अघि बढ्न सहजता प्रदान गरेको थियो।  

नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले उत्पादन अनुमतिपत्रका लागि सर्भेक्षण अनुमतिपत्र भन्दै व्याख्या गरेर पीपीएका लागि उत्पादन अनुमतिपत्र नभई स्वीकृति दिने व्यवस्था गरेको थियो। 

आयोग ऐन २०७४ ले अनुमतिप्राप्त व्यक्ति भन्नाले विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापार गर्न प्रचलित कानुनबमोजिम अनुमतिप्राप्त व्यक्ति वा संगठित संस्था सम्झनुपर्छ भन्ने व्यवस्था गरिएको छ। 

तर विद्युत् विकास विभागको विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका २०७५ मा बहाल रहेको विद्युत् जडान सम्झौता (ग्रिड कनेक्सन) वा पीपीए सम्पन्न गरिनेसम्बन्धी आशयपत्रको आधारमा उत्पादन अनुमतिपत्र दिने व्यवस्था गरिएको छ ।

सर्भेक्षण अनुमतिपत्र लिएका आयोजनाहरूले ग्रिड कनेक्सनको आधारमा पनि पीपीए गरेर पछि पनि उत्पादन अनुमतिपत्र दिने गरेकोमा आयोगले भने उत्पादन अनुमतिपत्र पछिमात्र पीपीएको व्यवस्था गरेको थियो।

विद्युत् प्राधिकरणमा पीपीएमा निवेदन दिएका आयोजनाहरूले पुनः विभागमा उत्पादन अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने अवस्था थियो भने सर्भेक्षण अनुमतिपछि पीपीएका लागि निवेदन दिन नसक्ने अवस्था थियो। जसको कारण आयोजनाहरूको काम एक वर्ष अघिदेखि अघि बढ्न सकेको थिएन।

विभाग र आयोगको व्यवस्था फरक–फरक हुँदा सर्भेक्षणको अनुमतिपत्र लिएका १८ हजार र पीपीएका लागि आवेदन दिएका ७ हजार मेगावाटका आयोजनाहरू अघि बढ्नसकेका थिएनन्। 

पीपीएको चरणमा गइसकेका र सर्भेक्षण गरेर पीपीए गर्नका लागि आवेदन दिने तयारी रहेका जलविद्युत् आयोजनाहरूलाई अघि बढ्न असहज हुने गुनासो आएपछि ऐन नै संशोधन गर्नका लागि भन्दै २० फागुन २०७६ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तत्कालीन कानुन महाशाखाका सहसचिव तोयनाथ अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलले मन्त्रालयमा प्रतिवेदन पेश गर्दै जारी भइसकेको अनुमतिपत्रलाई उल्लेख गरेको र विद्युत् उत्पादनका लागि सर्वेक्षण समेत आवश्यक हुने हुँदा आयोग ऐन २०७४ मा भएको उत्पादन अनुमतिपत्र शब्दले विद्युत् उत्पादनको सर्भेक्षण अनुमतिपत्र समेत समेटिने भएकोले पीपीएका लागि सहमति प्रदान गर्ने सन्दर्भमा सर्वेक्षण अनुमतिपत्र भएको अवस्थामा समेत पीपीएका लागि सहमति दिनका लागि बाधा नपर्ने गरेको थियो। तर पनि अहिलेसम्म कार्यान्वयनमा झमेला भोग्नुपरेको आयोजनाहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .