ad ad

कारोबार


उद्योग महासंघको विशेष साधारणसभाः प्रचार बढी, तयारी शून्य

उद्योग महासंघको विशेष साधारणसभाः प्रचार बढी, तयारी शून्य

बसन्त अर्याल
कात्तिक ३, २०७६ आइतबार ११:२१,

 नेपाल उद्योग वाणिज्य महासंघले विशेष साधारणसभाले बजारमा धेरै चर्चा पाए पनि तयारी अझै सुरु हुनसकेको छैन। महासंघको सचिवालय स्रोतका अनुसार विशेष साधारणसभा कहाँ गर्ने भन्ने समेत टुङ्गो लागेको छैन।

महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको नेतृत्व विधान संशोधन समितिले दिएको सुझावअनुसार महासंघको कार्यकारी समितिले कात्तिक २७ गते विशेष साधारणसभाको बैठक बोलाएको छ। देशभरबाट प्रतिनिधि आउनुपर्ने भएकाले कहाँ र कसरी गर्ने भन्ने विषय छिटो टुङ्ग्याउनुपर्ने हुन्छ । तर यसको लागि भने अझै कुनै तयारी नभएको महासंघ सचिवालयले बताएको छ।

‘सचिवालयले के गर्ने भन्ने कुरा नेतृत्वले तय गर्ने हुँदा हामीले केही तयारी गर्न सकेका छैनौँ’, स्रोतले भन्यो, ‘अध्यक्षज्यूले समय नदिँदा तयारी तीव्र पार्न सकिएको छैन।’ महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले दशैंको कारण तयारी नपुगेको स्वीकार गरे। ‘दशैँमा सबै जना व्यस्त हुँदा विशेष साधारणसभा कहाँ कसरी गर्ने भन्ने टुङ्ग्याउन सकिएको छैन’, उनले नेपालखबरसँग भने, ‘अब हामी अध्यक्षज्यूसँग छलफल गरी २/३ दिनमा टुङ्ग्याउँछौँ।’

यसकारण चासो बढी
उद्योग वाणिज्य महासंघले विशेष साधरणसभामा विधान संशोधन गर्ने विषय भएकोले धेरैको चासोको विषय बनेको छ। साधारणसभामा आगामी नेतृत्वको विषयले प्राथमिकता पाउने भएकाले चासोको विषय बनेको हो।

चण्डीराज ढकालको विधान मस्यौदा समितिले मुलुकको परिवर्तित संरचनाअनुसार प्रादेशिक प्रतिनिधित्वसहित, संशोधनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने, कार्यकाल, वस्तुगत क्षेत्रको मतभार संख्या, नयाँ बनेका जिल्ला नगर संघ, तिनलाई सदस्यता दिन मापदण्ड परिमार्जन गर्नुपर्नेलगायत सुझाव दिएको थियो ।

महासंघले तीन वर्षअघि अध्यक्षको चुनाव धेरै खर्चिलो भयो, अस्थिर भयो भनेर अध्यक्षमा प्रत्यक्ष चुनाव नगर्ने व्यवस्था गरेको थियो। अध्यक्षमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राखिएको छ। तर अहिले उपाध्यक्ष स्वतः अध्यक्ष हुने भन्ने विषयमा विवाद उत्पन्न भएको छ।

'विधान संशोधन गोल्छालाई अध्यक्ष बन्न नदिने खेल'

विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुन पाउने हालको व्यवस्था छ। तर शेखर गोल्छालाई अध्यक्ष बन्न नदिनको लागि चलखेल भएको उनी निकट व्यवसायी बताउँछन्। गोल्छानिकट व्यवसायी कृष्ण प्रसाद दुलालले अहिलेको विधान संशोधन गोल्छालाई अध्यक्ष बन्न नदिने खेल भएको बताए। उनले भने, ‘विधान संशोधनको लागि दुई तिहाइ मत चाहिन्छ। हाम्रो पक्षमा ४१ प्रतिशत मात्रै मत भए पनि विधान संशोधन हुँदैन।’

उनले शेखर गोल्छाको पक्षमा धेरै सदस्य भएकाले महासंघको आगामी नेतृत्व गोल्छाले नै गर्ने दाबी गरे।

महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले विधान संशोधनको फैसला सबै सदस्यले गर्ने भएकाले विवादको विषय नभएको बताए। व्यक्तिको लागि विधान संशोधन गर्दा महासंघको साख झर्ला नि भन्ने नेपालखबरको प्रश्नमा उनले महासंघको साख झार्ने कुनै काम नगर्ने बताए। ‘सबै व्यवसायी साथी महासंघलाई माथि उठाउन चाहन्छन्, त्यसैले विवाद आइहाले पनि मतदानबाट सबै कुरा टुंगिन्छ।’

महासंघका पूर्वअध्यक्षहरु भने महासंघको छिटो–छिटो विधान संशोधनले महासंघमा राजनीति बढी हावी भएको बताउँछन्।  कुनै एक व्यक्तिलाई हेरेर विधान संशोधन गर्नु महासंघको प्रभाव घटाउनुसरह भएको उनीहरुकाे दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .