कारोबार


आगामी मंसिर ५ देखि १६ गतेसम्म लुम्बिनी महोत्सव हुने

आगामी मंसिर ५ देखि १६ गतेसम्म लुम्बिनी महोत्सव हुने

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ७:५२,

प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ। संघ सरकारले नेपाल भ्रमण वर्ष–२०२० को तयारी गरिरहेको छ। यसैलाई सहयोग गर्ने गरी भ्रमण वर्षलाई जोडेर उद्योग व्यापार संगठन रुपन्देहीले आगामी मंसिर ५–१६ गतेसम्म पाँचौं लुम्बिनी पर्यटन प्रवर्द्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव गर्ने भएको छ।

‘हामीले कृषि उत्पादन तथा उद्योग व्यवसायको प्रबद्र्धन गर्छौं नै त्यससँगै नेपालका प्रमुख पर्यटकीय गन्तव्यको पनि प्रचार–प्रसार गर्छौं’, संगठनले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नारायणप्रसाद भण्डारीले भने। महोत्सव स्थलमा निर्माण हुने संरचना कुनै न कुनै पर्यटकीय स्थलको आकृति दिएर निर्माण गरिने छ ।

‘हामीले प्रवेशद्वारा (गेट) लुम्बिनीस्थित मायादेवी मन्दिरको आकृति दिएर बनायौं भने सचिवालय रानीमहल लगायत अन्य गन्तव्यको आकृति दिएर बनाउँछौं’, मेला मूल आयोजक समिति संयोजक समेत रहेका भण्डारीले भने, ‘महोत्सव स्थलमा बन्ने हरेक संरचनाले एउटा न एउटा पर्यटकीय स्थलको झल्को दिनेछ । ती स्थलमा सम्बन्धित ठाउँको जानकारीमूलक प्रचार सामाग्री पनि राख्छौं ।’ महोत्सव स्थलमा स्टेज र डुम पनि पर्यटकीय स्थलको आकृतिमा बनाइनेछ। यस्तै, महोत्सवमा पर्यटकीय स्थलको परिचयात्मक फोटो प्रदर्शनी, लुम्बिनीसँग सम्बन्धित पुरातात्विक वस्तुलगायत मुलुककै पर्यटकीय स्थलको परिचय, सेल्फी जोनको व्यवस्था गरिनेछ ।

‘धेरै पर्यटकीय स्थलको महोत्सवमा आउने दर्शकले एकै ठाउँमा जानकारी लिन पाउनुहुने छ । यसले आन्तरिक पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने हाम्रो विश्वास छ’, अनुगमन तथा मूल्यांकन उपसमिति संयोजक खिमबहाखुर खत्रीले भने । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले संगठनले महोत्सव प्रचार सामाग्रीमा नै मायादेवी मन्दिर, तिलौराकोट, रामग्राम, स्वर्गद्वारी, सुपादेउराली, रेसुंगा, रानीमहल, फेवाताल, सौराहा, पशुपतिनाथ मन्दिर, रारा ताल, पाकडी वृक्षको फोटा राखेको छ । ‘कृषिसँगै पर्यटनबाट मुलुकको समृद्धि हुन्छ । यसैले हाम्रा सुन्दर गन्तव्यहरुलाई समेटेर प्रचार सामाग्री पनि बनाएका हौं’, अध्यक्ष भण्डारीले भने ।

संगठनले आयोजना गर्ने महोत्सवमा यसवर्ष भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत देशका उद्योगी–व्यवसायीले २५ बढी स्टलसमेत राख्नेछन् । यसै क्षेत्रलाई समेट्ने गरी अहिले महोत्सवको दु्रत गतिमा तयारी भइरहेको स्टल दर्ता तथा बाँडफाड व्यवस्थापन उप–समिति संयोजक रामचन्द्र रेग्मीले जानकारी दिए । ‘विदेशी स्टलहरु समेत महोत्सवमा राखिने भएकाले यसले फरकपना ल्याउँछ’, उनले भने, ‘स्वदेशी कृषि उत्पादन, उद्योग–व्यवसाय, विज्ञान प्रविधिको आकर्षण त छँदैछ ।’ महोत्सवमा उद्योग, व्यापार, कृषि र पर्यटनसँग सम्बन्धित ४ सयबढी स्टल रहनेछन् । करिब ७० लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने आयोकको अपेक्षा छ । मेलामा ७० वर्ष उमेरमाथि र अपांगता भएका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म जुनसुकै नागरिकलाई पनि निःशुल्क प्रवेश गराइनेछ । ‘यसले मेलाप्रति आम नागरिकको अपनत्व बढ्छ’, भण्डारीले भने ।

मेलामा कृषि उत्पादनको प्रदर्शनी तथा कृषि उपजबाट निर्मित खानाका परिकार, घरेलु तथा साना उद्योग, महिला हस्तकला उत्पादनको प्रदर्शनी, वनजन्य जडीबुटीको प्रदर्शनी, औद्योगिक उत्पादन तथा मेसिनरी, विज्ञान तथा प्रविधि, होटल तथा रेष्टुरेन्ट, अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, दैनिक उपभोग्यवस्तु, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको कला, संस्कृति, लोक संस्कृति प्रदर्शनी गरिनेछ । यस्तै, कुस्ती, तेक्वान्दो र फुटबल खेला खेलाइने छ भने उद्योग, कृषि र पर्यटनसँग सम्बन्धित गोष्ठीहरु आयोजना गरिने छ । ‘हरेक क्षेत्रमा यो महोत्सव फरकपनाको हुनेछ । सबै वस्तु आकर्षक हुन्छन् । यसले दर्शकको मन लोभ्याउने छ’, खत्रीले भने, ‘राष्ट्रलाई आत्मनिर्भर बनाउन र मुलुकको अर्थतन्त बलियो गराउन सहयोग पुग्नेछ ।’

महोत्सवमा जिल्लाभित्रका कृषि उत्पादनको स्टल राख्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सुरक्षालाई ध्यानमा राखी महोत्सव स्थललाई सीसी क्यामेराबाट निगरानी गरिनेछ भने सम्भावित आगलागीलाई नियन्त्रण गर्न प्रत्येक ५० फिटको दूरीमा फायर सिलिण्डर राखिनेछ । ‘हामीले उत्पादनको प्रदर्शनी मात्रै गर्ने होइन, सुरक्षालाई पनि उत्तिकै ध्यान दिएका छौं । मेलामा स्टल राख्ने उद्योगी–व्यवसायी र दर्शकले पूर्णरुपमा सुरक्षाको प्रत्याभूति पाउनुहुनेछ’, अध्यक्ष भण्डारीले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .