अन्तरिक्ष यानसम्बन्धी कम्पनी भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष पर्यटनमा जानेका लागि टिकट बिक्री खुल्ला गरेको छ।
कम्पनीले एक सिटको लागि टिकटको सुरुवाती मूल्य साढे ४ लाख अमेरिकी डलर तोकेको हो।
बीबीसीका अनुसार कम्पनीका मालिक रिचार्ड ब्रान्सनले गत जुलाईमा सफल यात्रा गरेसँगै अन्तरिक्ष यात्राको टिकट बुकिङ खुल्ला गरेको हो।
अर्को वर्षदेखि व्यावसायिक अन्तरिक्ष उडान सुरु गर्ने कम्पनीको आशा छ।
यसअघि पनि कम्पनीले साढे २ लाख डलरमा टिकट बिक्री गरेको थियो तर एउटा ज्यान जाने दुर्घटनापछि सन् २०१४ मा बन्द गरेको थियो।
गत महिनाको सफल उडानपछि मानिसहरुले अन्तरिक्ष यात्रामा रुचि देखाउनथालेको बताइएको छ।
जुलाईमा युनिटी २२ उडानमा ब्रान्सनको टोलीले अन्तरिक्ष पुगेर फर्किएको थियो।
भर्जिन ग्यालेक्टिकसँगै जेफ बेजोसको ब्लु ओरिजिन, एलन मस्कको स्पेस एक्सले पनि अन्तरिक्ष पर्यटनलाई जोड दिइरहेका छन्।
बेजोसले पनि ब्रान्सनपछि आफ्नै कम्पनीको रकेटमार्फत अन्तरिक्ष उडान गरेका थिए। ब्लु ओरिजिनले भने २ लाखदेखि ३ लाख अमेरिकी डलरसम्ममा टिकट बिक्री गर्ने लक्ष्य राखेको छ।
Shares

प्रतिक्रिया