कारोबार


विश्व बैंकबाट प्राप्त हुने सहायता उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्छाैँ: अर्थमन्त्री

विश्व बैंकबाट प्राप्त हुने सहायता उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्छाैँ: अर्थमन्त्री

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार १२:१,

अर्थमन्त्री डा. युवराज खतिवडा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र प्रतिनिधिमण्डलका अन्य सदस्यहरुले संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एसिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा सहभागिता जनाएका छन्।

विश्व बैंकले नेपालमा सहायता गरेको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका कतिपय रणनीतिक प्राथमिकताहरुको विषयमा चर्चा गर्दै नेपालको प्राथमिकताअनुसार चरम गरिबी केही वर्षभित्रमा हटाउने र आम जनताको औसत आयु एसिया प्रशान्त क्षेत्रको औसत आयु बराबर पुर्‍याई गुणस्तरीय जीवनयापन गर्न सक्ने बनाउन बैंकको सहायता राशिमा उल्लेखनीय वृद्धि गर्न जरुरी रहेको बताए।

बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋणमाथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउँदै अर्थमन्त्री डा. खतिवडाले प्राप्त हुने सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाए। विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एसियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा उच्च प्रशंसा अझै धेरै साझेदारी गर्न बाँकी रहेको बताए।

नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदानप्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरले नेपालले छोटो सयममा वित्तीय संघीयता कार्यान्वयन गर्न सफल भएकोमा प्रशंसा गरे। उक्त कार्यक्रमको अध्यक्षता गर्दै अर्थमन्त्री डा. खतिवडाले वित्तीय संघीयताको कार्यान्वयनका सम्बन्धमा विविध पक्षमा प्रकाश पारे भने नेपालमा वित्तीय संघीयताको कार्यान्वयन खास गरी अन्तर्सरकारी वित्त हस्तान्तरण तथा राजस्व बाँडफाँट लगायतको विषयमा नेपाल सरकारका सचिव डा. बैकुण्ठ अर्यालले प्रस्तुतीकरण गरे।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आएको अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका अर्थमन्त्रीहरुको १४औं अनौपचारिक वैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा. खतिवडाले यस क्षेत्रको आर्थिक वृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहेको बताए। यस क्षेत्रमा अन्तर्देशीय सडक लगायत हवाइ सञ्जालको पर्याप्त विकास हुनसकेमा यसले आर्थिक वृद्धिमा योगदान पुर्‍याउने उनले बताए। यस क्षेत्रमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुनु नै व्यापार सहजीकरणको लागि बाधक रहेको बताउँदै अर्थमन्त्री डा. खतिवडाले विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय दातृनिकायहरुको सहयोगबाट अन्तर्देशीय सडक सञ्चालनको लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने बताए।

दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाइ सेवाको सञ्जाल विकास गरी अन्तर आबद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने साथै यसबाट आर्थिक वृद्धिमा परिपूरक भूमिका रहने बताए। साथै यस क्षेत्रको व्यापार सहजीकरणका लागि भुक्तानी सहजीकरण पनि अत्यावश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad