ad ad

कारोबार


तल्लो अरुण जलविद्युत् परियोजना अघि बढाउन एसजेभीएन इन्डियासँग समझदारी

तल्लो अरुण जलविद्युत् परियोजना अघि बढाउन एसजेभीएन इन्डियासँग समझदारी

नेपालखबर
असार २७, २०७८ आइतबार २१:५०,

६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना अघि बढाउन एसजेभीएन लिमिटेड इण्डियासँग समझदारी भएको छ।

तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र एसजेभीएन लिमिटेड इन्डियाबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र विकासकर्ता कम्पनीको तर्फबाट एसजेभीएन लिमिटेड इन्डियाका अध्यक्ष तथा प्रबन्धनिर्देशक नन्दलाल शर्माले हस्ताक्षर गरेका हुन्।

पिकिङ रन अफ दि रिभरमा आधारित उक्त परियोजनाको अनुमानित लागत १३०० मिलियन अमेरिकी डलर (२०१७ को दर रेटअनुसार) रहेको बोर्डले जानकारी छ। 

२०७५ चैत १५ मा सम्पन्न लगानी सम्मेलनका अवसरमा उक्त परियोजना लगानीकर्ताबीच प्रस्तुत गर्न लगानी बोर्डको ३५औँ बैठकले अनुमति दिएको थियो। 

सम्मेलनमा प्रस्तुत गरिएको उक्त परियोजनाका लागि प्राप्त प्रस्तावहरुमध्येबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको प्रक्रिया अवलम्बन गरी २०७७ माघ १६ मा बसेको लगानी बोर्डको ४६औँ बैठकले परियोजनालाई निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण ढाँचामा विकास गर्न एसजेभीएन लिमिटेड इन्डियाको प्रस्तावलाई छनौट गर्ने निर्णय गरेको थियो। 

२०७८ असार ८ मा बसेको लगानी बोर्डको ४७औँ बैठकले उक्त समझदारीपत्रको मस्यौदा स्वीकृत गरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई समझदारीपत्रमा हस्ताक्षर गरी सर्वेक्षण अनुमतिपत्र जारी गर्न अख्तियारी प्रदान गरेको थियो। 

समझदारीपत्रमा उल्लिखित कार्यादेशबमोजिम विकासकर्ता कम्पनीले समझदारीपत्रमा हस्ताक्षर भएको मितिले २ वर्षभित्र विस्तृत परियोजना अध्ययनसम्पन्न गरी लगानी बोर्डमा स्वीकृतिको लागि विस्तृत परियोजना प्रतिवेदन  पेश गर्नुपर्ने बोर्डको भनाइ छ। 

बोर्डको कार्यालयले परियोजनाको अध्ययनका लागि आवश्यक सहजीकरण गर्ने जानकारी दिएको छ। 

हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उपप्रधान तथा अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले परियोजनाको निर्माण द्रुतगतिमा अघि बढ्ने विश्वास गर्दैं यसका लागि नेपाल सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाए। 

उनले भने, ‘यस समझदारीले मुलुकको आर्थिक विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्दछु। यसले सरकार मुलुकको आर्थिक विकासमा प्रतिबद्ध रहेको छ।’

यस्ता ऊर्जा परियोजनाको विकासले नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सहयोग पुर्याउने विश्वास रहेको पौडेलको भनाइ छ।   

उक्त अवसरमा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले लगानी बोर्ड कार्यालयले गरेको प्रभावकारी सहजीकरणबाट अरुण ३ परियोजनाको कार्यान्वयन सहज भएको बताउँदै तल्लो अरुण जलविद्युत् परियोजनाका लागि समेत अधिकतम सहजीकरण गरिने बताए।
 
उक्त अवसरमा एसजेभीएन लिमिटेड इन्डियाका अध्यक्ष तथा प्रबन्धनिर्देशक नन्दलाल शर्माले तल्लो अरुण जलविद्युत् परियोजना विकास गर्न एसजेभीएन लिमिटेड इन्डियाको प्रस्तावलाई छनौट गरी आफ्नो कम्पनीप्रति विश्वास गरेकोमा नेपाल सरकारलाई धन्यवाद् दिए।

नेपालमा अन्य जलविद्युतका परियोजना विकासमा पनि नेपाल सरकारसँग साझेदारी गर्ने अवसर मिल्ने विश्वास उनको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .