मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ।
ग्राहक बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो ∕ अफ्ठ्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यो सुविधा मार्फत मेगा बैंक नेपाल लिमिटेडका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकहरुले न्यूनतम् रु २० हजार देखि रु १ लाख ५० हजार रुपैयाँसम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिना सम्मको लागि उपभोग गर्न पाइने छ।
यस व्यवस्थाले ग्राहकहरुलाई उपचारका लागि तत्कालै रकमको जोहो गर्न सहज हुने विश्वास बैंकले लिएको छ। बैंकले ग्राहकहरुले आवश्यक कागजपत्र पेश गरेको २ दिनमा नै ग्राहकहरुलाई यस सुविधा उपलब्ध गराउने ब्यवस्था मिलाएको जनाएको छ।
बैंकका डिजिटल तथा इ बैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार, यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्ड बापत लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यसका साथै, बैंकले बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले हेल्थ प्याकेज लिन चाहेमा त्यसको भुक्तानी गर्ने सुविधा समेत ल्याएको छ।
अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ।
यस अन्तर्गत अस्पतालको बिल सोझै बैंक समक्ष पेश गरी क्रेडिट कार्ड मार्फत अस्पताललाई भुक्तानी गर्न सकिने छ भने ग्राहकहरुले आफूले भुक्तानी गरिसकेको बिलको शोधभर्ना समेत लिन सकिनेछ।
बैंकको देशभरका शाखा कार्यालयहरुबाट उपलब्ध यस सुविधाबारे विस्तृत विवरणका लागि आफूलाई पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क राख्न मेगा बैंकले अनुरोध गरेको छ।

प्रतिक्रिया