कारोबार


प्रधानमन्त्रीले गरे राष्ट्रिय गौरवको तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन

प्रधानमन्त्रीले गरे राष्ट्रिय गौरवको तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन

नेपालखबर
असार २१, २०७८ सोमबार १७:४६,

दोलखाको बिगु–१ लामाबगरमा निर्माण गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारबाट स्विच थिचेर ओलीले ४५६ मेगावाट क्षमताको आयोजना उद्घाटन गरेका हुन्। 

आयोजना उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आयोजनालाई आजको स्थितिमा ल्याउन योगदान गर्ने सबैलाई धन्यवाद दिए।  

उनले भने, ‘यो आयोजनामा योगदान गर्नुहुने सबै दाजुभाइलाई धन्यवाद दिन चाहन्छु। आज अपर तामाकोशी जलविद्युत आयोजनाको सफल सम्पन्न भएको छ। आजदेखि उत्पादन सुरु हुँदै छ। त्यसको हामीले उद्घाटन गरेका छौँ।’ 

विकास हामी सबैको साझा आवश्यकता भएको बताउँदै प्रधानमन्त्री ओलीले त्यसको उपलब्धि पनि हामी सबैको उपलब्धि भएको बताए।  

उनले भने, ‘यो आन्तरिक खपतको लागि मात्रै हैन बाह्य निर्यातको लागि पनि अनुकूल वातावरण सिर्जना गर्छ।’

उद्घाटन भए पनि आयोजनाबाट आजैबाट ४५६  मेगावाटको कुल क्षमतामा विद्यु्त् उत्पादन हुनलागेको भने होइन। 

यो आयोजनामा ६ वटा युनिट छन्। हरेक युनिटबाट ७६ मेगावाट उत्पादन हुन्छ। त्यसमध्ये एउटाको भने अहिले परीक्षण उत्पादन सुरु गर्न लागिएको हो। 

परीक्षण उत्पादन १५ दिनको रहने आयोजनाले जनाएको छ। त्यसपछि मात्रै अन्य युनिटबाट विद्युन् उत्पादन सुरु हुनेछ।

जनाएको छ। २०६७ सालमा मुख्य सिभिल निर्माणकार्य सुरु गरिएको आयोजनाको २०६८ जेठ ४ गते शिलान्यास भएको थियो।  

सुरुमा लागत अनुमान ४ सय ५६ अमेरिकन डलर अर्थात् ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँको हुने भनिएको थियो। 

तर डिजाइन परिवर्तन र अन्य विविधि कारणले गर्दा निर्माण लागत अनुमान गरेभन्दा थप भएको छ। यसमा लागत अनुमान बढेर ५ सय ९० मिलियन अमेरिकन डलर अर्थात् करिब नेपाली रुपैया ५२ अर्ब पुगेको छ। 

यो भनेको निर्माण अवधिको ब्याजबाहेकको रकम हो। ब्याज रकम सुरुमा १४ अर्ब रुपैयाँ हुने अनुमान गरिएकोमा अहिले ३२ अर्ब रुपैयाँ हुने अनुमान छ। 

यो अर्थमा निर्माण लागत ५२ अर्ब र ब्याज रकम ३२ अर्ब रुपैयाँ जोड्दा कुल लागत ८४ अर्ब रुपैयाँ पुग्ने भएको छ।  

आजको उद्घाटन कार्यक्रममा उपप्रधान तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विष्णु प्रसाद पौडेलले यति बेला लोडसेडिङको अन्त्यको अवस्थामा आएको बताए। 

उनले भने, ‘अब लोडसेडिङको पुनरावृत्ति कहिले नहुनेमा यो आयोजनाले ढुक्क बनाएको छ। 

यो आयोजनाले उद्योगक्षेत्रको विकास तथा कुल गार्हस्थ्य उत्पादनको वृद्धिमा ठूलो योगदान गर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .