युरोपेली आयोगले नेपालको भन्सार विभागलाई सम्बोधन गर्दै युरोपेली संघले नेपाललाई दिएको व्यापार सौविध्यलाई लिएर अनुगमनकाे अवस्थाबारे जानकारी मागेको छ। आयोगका तर्फबाट स्टेफन क्वेस्टले ब्रसेल्सबाट विभागलाई पत्रमार्फत उक्त जानकारी माग गरेको पत्र समेत नेपालखबरले प्राप्त गरेको छ।
ईयूले दिएको व्यापार सौविध्यको हकदार भएको नाताले आयोगको डाइरेक्टोरेट जनरल फर ट्याक्सेसन एण्ड कस्टुम्स युनियन(डीजी ट्याक्सड)ले यो सुविधा लिने सबै देशले सोहीअनुसार दायित्व निर्वाह गरे/नगरेको अनुगमनका सिलसिलामा पत्र पठाएको हो। यसमा सहयोग गर्न नेपाललाई आयोगले भनेको छ। आवश्यकताअनुसार उक्त सन्दर्भमा ईयूले टोली नै खटाएर समेत अनुगमन गर्न सक्ने स्मरण पनि गराइएको छ।

चार प्रश्न
पत्रमा मुख्य चारवटा कुराबारे ईयूले स्पष्टीकरण मागेको छ। जसअन्तर्गत पहिलो नम्बरमा रेक्स सिस्टम अर्थात् दर्ता निर्यात प्रणालीअनुसार यस सुविधासँग सम्बन्धित अधिकारीहरु, निर्यातजन्य वस्तुको उत्पत्तिको प्रमाणपत्रसम्बन्धी, दोस्रो नम्बरमा निर्यातजन्य वस्तुको सूची र तिनीहरुको उत्पत्तिको प्रमाणसम्बन्धी, तेस्रो नम्बरमा निर्यातअघिको अनुमान र निर्यातपछिको अनुमानसम्बन्धी र चौथो नम्बरमा वस्तु प्रमाणीकरणको आग्रह र प्रशासनिक सहकार्यबारे प्रश्नहरु गरेको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले नेपालखबरसँग कुरा गर्दै युरोपेली आयोगले नेपालले व्यवसायमा पाएको सुविधाबारे कति अनुगमन गरिरहेको छ वा छैन भन्ने विषय सोधेको जानकारी दिए। उनका अनुसार नेपालको आर्थिक स्थितिअनुसार अन्य देशभन्दा विशेष सेवा सुविधा पनि आएको हुन्छ।
त्यसको अनुगमन के कति भइरहेको छ भन्ने कुराहरु नै ईयूले सोधेको हो। उनले भने, ‘उनीहरुले जानकारी लिन चाहेजस्तो अनुगमन त हाम्रो जनशक्ति हुनसकेको छैन तर पनि प्रश्नावलीअनुसारको जवाफ भने उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत दिइएको छ।’

प्रतिक्रिया