ad ad

कारोबार


नारायणगढ-बुटवल सडक विस्तार : दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

नारायणगढ-बुटवल सडक विस्तार : दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

सञ्चिता घिमिरे
असार २१, २०७८ सोमबार १४:५३,

निर्माण सुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन।

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले बिस्तार सुरुआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ। यही असारको १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ–बुटवल सडक योजनाले जनाएको छ। 

 सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रित भएको प्रमुख रमेशकुमार दृष्टिले बताए। 

उनले भने, ‘अहिले कतिपय कामदारको गाउँमा रोपाइँ भएकाले होला फर्किएका छैनन्।’

सामान्य अवस्थामा झण्डै चारदेखि पाँच सयसम्म कामदार हुने गरेकामा अहिले आयोजनामा झण्डै ५०-६० जना मात्रै कामदार कार्यरत छन्। कोभिडको त्रासका कारणले फर्किएका कामदार अझै निर्माणस्थल नफर्किएको उनले बताए। गत वैशाख महिनामा देशभर संक्रमितको संख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए। कामदारले डरले गर्दा वा परिवारका सदस्यलाई कोभिड हुँदा घर फर्किएको उनले बताए। 

उनले भने, ‘वैशाखमा फर्किएका अझै आएका छैनन्।’

अहिले दैनिक वर्षात् भइरहेकाले निर्माणको काम गर्न नसकिएको प्रमुख दृष्टिले बताए। निर्माणका लागि असार÷साउन उपयुक्त समय नभएकाले आपत्कालीन मर्मतबाहेक अरु काम कम हुन्छ। मौसमले साथ दिए र सङ्क्रमण घटेमा भदौबाट मात्र काम गर्न सकिने उनले बताए।

विस्तारको काम तालिकाभन्दा धेरै पछाडि रहेको आयोजनाले जनाएको छ। ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माणको काम झण्डै छ÷सात प्रतिशत मात्रै सकिएको हो। निर्माणस्थलमा पहिले रुख कटान र खम्बा सार्न लामो समय लागेको प्रमुख दृष्टिले बताए। कोभिडले गर्दा गत वर्ष र चालू वर्ष गरी दुई वर्ष अवरोध भएको छ। अझै पनि बिजुलीको खम्बा हटाउन सकिएको छैन।

उनले भने, ‘पोल हटाउनका लागि सम्झौता भइसकेकाले त्यो सकिएपछि कामले गति लिनेछ।’

सामान्यतया निर्माणस्थल खाली नहुँदै ठेक्का सम्झौता भएको ठेक्कामा सुरुका वर्षमा प्रगति कम नै हुन्छ। सुरुवाती समयलाई तयारीको समयका रुपमा लिने गरिन्छ। पछिल्लो वर्षमा द्रुत प्रगति हुने अपेक्षा गरिएको प्रमुख दृष्टिले बताए। निर्माण अघि बढाउन उपकरण र सामग्रीको पनि आवश्यकता पर्छ। निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीसँग अहिले उपकरण कमी छैन। 

उनले भने, ‘अझै पनि कोभिडको त्रास नहटेकाले र कामदार कति आउँछन् त्यसमा निर्भर हुन्छ।’

ठेक्का सम्झौताका आधारमा झण्डै एक वर्ष अवधि बाँकी रहेको छ। अझै पनि समयमा सकाउनेमा शंका रहेको प्रमुख दृष्टिले बताए। गत वर्ष छ महिना अवधि थप भएको थियो भने चालू आवमा पनि अवधि थपिन सक्ने देखिएको छ। 

उनले भने, ‘थपिएको समयमा निर्माण सकिएमा पनि उपलब्धि मान्न सकिन्छ।’

गत आवमा सरकारले जारी गरेको बन्दाबन्दीका कारण निर्माणमा बाधा पुगेको थियो। चालू आवमा भने प्रशासनले समन्वय गरेकाले आवश्यक मात्रामा आवतजावत गर्न समस्या नभएको उनले बताए। चालू आवमा कामदार आफैँ मानसिकरुपमा डराएका कारणले काममा लगाउन नसकिएको उनले बताए। निर्माण व्यवसायीले चाहेर पनि काम लगाउन सकेका छैनन्। 

अहिले निर्माणस्थलमा हटाउनुपर्ने धेरै कुरा हटिसकेको प्रमुख दृष्टिले बताए। वन क्षेत्रमा रुख हटाउने काम ९० प्रतिशत प्रगति भइसकेको छ। तत्कालका लागि रुखका कारण निर्माण नै रोकिने अवस्था नभएको आयोजनाले जनाएको छ। अहिले कतिपय स्थानमा विद्युत्को लाइन हटाउन बाँकी छ। 

उनले भने, ‘त्यसका लागि सम्झौता भइसकेकाले चाँडो अघि बढाउन सकिनेछ।’

अहिले काम गर्नका लागि आवश्यक पर्ने जनशक्ति पर्याप्त हुँदा बाँकी समयमा धेरै प्रगति हुनसक्ने देखिएको आयोजनाले जनाएको छ। सडकको अधिकार क्षेत्र (राइट अफ वो) को समस्या कम भइरहेको छ। खानेपानीको केही पाइप मात्र हटाउन बाँकी रहेको प्रमुख दृष्टिले बताए। 

उनले भने, ‘त्यो हटाउन कुरा भइरहेको छ।’

गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा पनि निर्माणमा ढिलाइ भएको थियो। गत वर्ष कम्पनीले कामदारलाई भुक्तानी नदिँदा पनि समस्या भएको थियो। अहिले भने त्यो समस्या हटिसकेको छ। 

विसं २०७५ चैतमा सो सडकको बिस्तार शुरु भएको थियो। दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेशनलाई दिइएको छ। चार लेनमा बिस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ।

सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक बिस्तार गरिसकेको छ भने नागढुङ्गा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .