Draft


फुपुका प्रश्नमा पहिला हाँसें, पछि घोत्लिएँ

फुपुका प्रश्नमा पहिला हाँसें, पछि घोत्लिएँ

शुष्मा रुपाबुङ
असोज ११, २०७६ शनिबार ६:११,



नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै विश्व आदिवासी दिवसको अवसरमा बेलायतको लण्डनस्थित नेपाली दूतावासले नेपाली म्युजिक र फुड फेस्टिभल आयोजना गर्यो, जसमा हामी आदिवासी पनि पनि सहभागी भयौं।

कार्यक्रम सकेर निस्केपछि घर फर्किन रेल स्टेसनतिर जाँदै थियौं, आफुले लगाएको दौरातिर हेर्दै संजीवले भन्नुभो– मेरो दौरा पनि निकै छोटो भैसकेछ।

सँगै रहेकी फुपुले अलिकति मुस्कुराएर संजीवतिर हेर्दै सोध्नुभो– बाबु, यो दौरा सिलाएको कति भयो त?

संजीवले अलि अप्ठेरो मान्दै जवाफ दिए– भयो होला फुपु तीन–चार बर्ष नै।

अनि अलि छुच्चो स्वरमा फुपुले तुरुन्तै भनुभो– यी चार बर्षमा तपाईंले कति किसिमका फेसनका कपडा किन्नुभयो होला तर, आफ्नो मौलिक पोषाक ठानिएको दौरा–सुरुवाल अर्को एक जोर सिलाउन सक्नु भएन है?

फुपुको कुरा सुनेर हामी सबै गलल हाँस्यौं। तर हाँस्दा–हाँस्दै चार–पाँच बर्षअघि किनेको फरिया लगाइरहेको आफैंलाई देखेर मेरो मन कटक्क भो। संजीव त झन् कालो अनुहार लगाएर मुस्कुराई टोपल्यो।

हाम्रै समूहमा सर्ट र पाइन्ट लगाएर हिंडिरहेका एक जनाले भने– मलाई त दौरा सुहाउँदैन, त्यही भएर लाउँदिन पनि।

फुपुले ‘तपाईंलाई पनि जवाफ दिउँ त’ भन्नासाथ उनी खिस्रिक्क परिहाले।

ती फुपु हुन्, नेपालका श्रद्धेय कवि श्रवण मुकारुङ र राजन मुकारुङका आफ्नै फुपु क्षेत्रकला राई। युद्ध कवि तथा साहित्यकार नरेस काङमाङले हामीलाई ती फुपुसँग चिनाउनु भयो। र, उहाँ साइनोले पनि मेरो फुपु नै पर्नुभयो।

बिहान कार्यक्रममा जाँदा साहित्यकार नरेस काङमाङ, सम्पादक किरण राई, संजीव पारदर्शी हामी सँगै थियौं। फर्कंदा भने फुपु सहित अरु दुई जना थपिएका थिए। नरेसले थपिएका दुई जना कुनै नेपाली संस्थाका पदाधिकारी हुन् भनेर चिनाउनु भएको थियो। तर राम्ररी ख्याल नगर्दा ती दुई जना आर्यन समुदायका व्यक्तिको नाम मैले बिर्सें।

सामान्य हाँसोठट्टाजस्तो लाग्ने फुपुका प्रश्नहरू आफ्नो मौलिक संस्कार, संस्कृति वा पहिचानको मुद्दाका विषय थिए, जुन यो विषयको वकालत गर्दै हिंड्नेहरुका लागि हजारौं भोल्टेजको करेन्ट जस्तो थियो। त्यो क्षणले मलाई भित्री मनबाट सोच्न बाध्य बनायो–म आफ्नो मौलिकताको कुरा गर्छु तर व्यवहारमा कत्तिको आफ्नो मौलिकताप्रति उदार, संवेदनशील र गम्भिर छु त?

मेरा एक दुई जना साथी छन्, जो तिज वा दसैंका लागि तीन चार महिनाअघिबाटै आफुले लगाउने कपडाको डिजाइन गर्छन्। के के खाने भनेर मेनुको लिस्ट बनाइसक्छन्। क–कसलाई भेट्ने भनेर डेट बुक गरिसक्छन्। तर आफ्ना मौलिक चाडपर्वहरु आएको, गएको पत्तो पाउँदैनन्। यो उनीहरुको मात्र गल्ती म भन्दिनँ, बरु अघिल्लो पुस्ताले उनीहरुलाई आफ्ना मौलिक चाड पर्वबारे बुझाउन चाहेनन् वा आकर्षित गर्न सकेनन्। पुस्तान्तरण हुँदै गयो भने मात्र कुनै पनि संस्कार, संस्कृतिले निरन्तरता पाउँछ। कुनै पुस्ता ग्याप हुनासाथ त्यो मर्छ।

जब अन्य समुदाय वा धर्मावलम्बिहरुको चाडपर्व आउँछन्, तब हामी हाम्रो समुदायका मानिसले आफ्नो मौलिक चाडपर्व लत्याएर अरुको मात्र माने भनेर गुनासो पोख्न थाल्छौं। तर आफ्नै परिवारलाई हामीले आफ्नो मौलिकताको महत्व कति बुझाउन सकेका छौं? उनीहरुलाई आफ्नो मौलिकतातर्फ आकर्षित गर्न के गर्नुपर्छ भन्नेतिर अरुबेला किन ध्यान दिँदैनौं?

राज्यको मुलधारबाट हामी सदियौंदेखि धेरै कुरामा बञ्चित गरिएका र दबाइएका छौं। र, हाम्रा हरेक मौलिकतामा यसको नराम्रो प्रभाव परेको छ। त्यसैले हामी राज्यलाई सत्तोसराप गर्छौ तर जब हामी माथि उठ्ने मौका पाउँछौं त्यहाँ चाहिँ चुकिरहेका छौं। अहिले वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा जाने र उतै बस्ने क्रम बढ्दा झन् समस्या बढिरहेको छ। र, दिनदिनै हामी नेपाली आदिवासीहरूको मौलिक भाषा, संस्कार र संस्कृति संकटमा परिहरेको छ।

बेलायतकै कुरा गरौं न। यहाँ रहेको नेपाली समुदायमा आदिवासी जनजातिको बाहुल्यता छ। पहिले–पहिले यहाँ एउटा पुस्ता एक निश्चित अवधिभर मात्रै रहन्थ्यो। अब यतै बस्न र आफ्ना साखा–सन्तान ल्याउन पाउने भएपछि पुस्ता–पुस्ता थुप्रिँदै जाँदा बेलायतमा एउटा सानो नेपाल नै बनिसकेको छ। तर संख्या जति बढेपनि आफ्नो मौलिक संस्कार संस्कृतिप्रति सचेतता निकै कम छ।

उदाहरणका लागि दूतावासको त्यही कार्यक्रममा जानुअघि लागेको थियो– आदिवासी जनजातिको खचाखच भिड लाग्नेछ त्यहाँ। सबैसँग भेटघाट हुनेछ र एक अर्काको संस्कार संस्कृतिबारे अझ व्यापक रुपमा थाहा हुनेछ। त्यो देखेर पछिल्लो पुस्ताले पनि केही सिक्नेछ, बुझ्नेछ। तर त्यहाँ पुग्दा यस्तो लाग्यो– जातीय संघसंस्थामा आवद्ध एक–दुई जना बाध्यताले हाजिरी दाखिला गर्न आएका हुन्। पछिल्लो पुस्ताका केटाकेटीहरु त देख्नै पाइएन। केही जातीय सांस्कृतिक झाँकी बाहेक आफ्नो मौलिक भाषाका गीत–संगीत सुन्न पाइएन। बेलायतमा रहेका नेपाली आदिवासीमा राईहरुको बाहुल्यता भएपनि किरात राई यायोक्खाले एउटा साकेला सिली समेत प्रदर्शन गर्न सकेन।

केही दिनपछिको तिज आदिवासी जनजातीका प्रायः घरका मानिसले धुमधाम मनाए। किसिम किसिमका तस्बिरहरुले सामाजिक सञ्जाल रङ्गियो। त्यो जमातलाई साकेला, ल्होसार, माघी जस्ता मौलिक चाडपर्वबारे कुनै पत्तो वा चासो हुँदैन। आफ्नो चाड मनाउन एकदिन समय छुट्याउन सक्दैनौं हामी।

विदेशमा मात्र हैन नेपालमै पनि हाम्रा मौलिक चाडपर्वहरुमाथि कसरी अतिक्रमण भइरहेको छ भनेर हामीले प्रष्ट देखिरहेका छौं। जातीय संघसंस्थाहरुमा पदको भागबन्डा गर्दै आफुलाई ठालु मानेर माग्न हुन्छौं तर पछिल्लो पुस्ताको संस्कृतिक चेतनाप्रति उत्तरदायित्व निर्वाह गर्दैनौं।

अहिले ग्लोवलाइजेसनको जमाना छ र सबैतिर पूँजीवाद मौलाइरहेको छ। यो बेला सबै देखाउनमा विश्वास राख्छन्। त्यसैले तिज, दसैं जस्ता चाडपर्वमा महिलाहरु झन् झन् फेसनमा डुबिरहेका छन्। राज्यले नै दसैंलाई बडा र नयाँ लुगाले आकर्षित गराउँदै आएको छ।

भनिन्छ– यदि केही कुरालाई निरन्तरता दिनु छ भने कि बालबालिका कि महिलालाई पहिला आकर्षित गर्नुपर्छ, उनीहरुलाई कसैले रोक्न सक्दैन।

त्यसैले आफ्नो मौलिक संस्कार, संस्कृति र चाडपर्वलाई निरन्तरता दिन अरुको आलोचना मात्रै होइन, हामी आफैं सचेत हुनुपर्छ। हामीले पछिल्लो पुस्तालाई आफ्नो मौलिकता कति बुझाइरहेका छौं भनेर आत्मालोचना गर्न आवश्यक छ।

कहिलेकाहीँ नयाँ पुस्ताले हाम्रो मौलिक पराम्परागत पोषाकलाई फ्युजन गरी आधुनिक बनाएर लगाउँछन्। हामी त्यसको यति उछित्तो काड्छौं कि युवा पुस्ताले फेरि आफ्नो मौलिकताका कुराहरु फर्केर पनि हेर्न मन गर्दैन। यो कुरामा हामी चुकिरहेका छौं। हामी आफ्नो मौलिकपनमा साह्रै संकीर्ण छौं र कन्जुस्याइँ गर्छौं।

हामी तिज, दसैंसँग जोडिएका गीत–संगीत बर्षैभरि सुन्छौं, सुनाउँछौं तर आफ्ना मौलिक गीत–संगीत सुन्न, पढ्न समय मिलाउँदैनौं। कमजोरी हामी आफैंमा छ। हामी जजस्ले यो कुरा बुझेका छौं, अझै संवेदनशील बनौं र यसमा पछिल्लो पुस्तालाई आकर्षित गर्दै जाउँ।

कमसेकम कोसीस गरौं। हामी जसरी मिठो मानेर आफ्ना मौलिक संस्कार र संस्कृतिको कुरा गर्छौं, त्यसलाई व्यवहारमा उतार्न पनि अप्ठेरो नमानौं र पुस्तानतरण गर्दै जाउँ। त्यससँगै हाम्रा मौलिक चाडपर्वहरुले पनि हर्षोउल्लासका साथ निरन्तरता पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad