बेलायतमा नेपालीहरूद्वारा स्थापित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘अटम टेनिस टुर्नामेन्ट’ को शीर्ष उपाधि विनोद खड्काले जितेका छन्।
शनिबार (२० सेप्टेम्बर) अल्डर्सटस्थित सैनिक छाउनीको टेनिस सेन्टरमा सम्पन्न उक्त प्रतियोगितामा प्रमुख उपाधिका निम्ति ‘मिन्स सिङ्गल्स ओपन ए’तर्फ खड्काले प्रकाश गुरुङलाई ६-२ को सोझो सेटमा पाखा लगाउँदै च्याम्पियन बनेका हुन्।
प्रतिकुल मौसमका कारण समयाभाव भएकोले ‘बेस्ट अफ थ्रि’को सट्टा निर्णायक एक सेट खेलाइएको थियो।
त्यसैगरी प्रतियोगिताको अन्य समूहबीच भएको प्रतिस्पर्धामा ‘मिन्स सिङ्गल्स ओपन बी’तर्फको फाइनल खेलमा विवेक गुरुङले सन्तोष गुरुङलाई पराजित गरे। ‘ओपन सी’तर्फ अल्मोशकुमार सुनुवारले हर्क तामाङलाई पाखा लगाए।

४५ वर्षभन्दा माथि भेटेरान्सतर्फको फाइनल खेलमा कृष्ण थापा मगरले पञ्च पुनलाई ६-२ को अन्तरले पराजित गरे।
त्यसैगरी, ५५ माथितर्फ नमराज गुरुङले मोहन गुरुङलाई पराजित गरे। यसका साथै, नोभाइसतर्फ सञ्जय थापाले आर्य शाहलाई पराजित गरे।

महिलातर्फ नविना गुरुङले यास्मिन गुरुङलाई पराजित गरिन्।
प्रतियोगिताका विजेता र उपविजेताहरूलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले ट्रफी प्रदान गरेका थिए। कार्यक्रम क्लबका सचिव मोहन गुरुङले सञ्चालन गरेका थिए।
प्रतियोगितामा पुरुष र महिला गरी करिब ६ दर्जन नेपालीको सहभागिता थियो। प्रतियोगितालाई सनसाइन मोर्गेजले प्रायोजन गरेको हो।

प्रतियोगितामा राफल चिट्ठा पनि उडाइएको थियो। जसमा आकर्षक गोर्खा ब्रान्डको नाडी घडी थियो, जुन प्रायोजनमार्फत आयोजकलाई उपलब्ध गराइएको थियो। चिट्ठा पार्ने भाग्यमानी सुदिप गुरुङ भए।
क्लबले हरेक वर्ष स्प्रिङ, समर, अटम र विन्टर गरी प्रमुख चार प्रतियोगिता आयोजना गर्ने गरेको छ।
क्लबको नयाँ नेतृत्व चयन
प्रतियोगिताको अन्तिम चरणमा मोहन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
सन् २०१५ मा स्थापना भएको उक्त क्लबलाई हर्क गुरुङले ९ वर्षसम्म नेतृत्व गरेका थिए। मोहन यो भन्दा अगाडि सचिव पदमा थिए।
त्यसैगरी कोषाध्यक्षमा नेल पुन चयन भएका छन्। अन्य पदमा भने पूर्वकमिटीमै रहेकाहरूलाई निरन्तरता दिइएको छ।
‘गोर्खा नेप्लिज टेनिस क्लब’मा हाल २ सय भन्दा बढी सक्रिय सदस्य छन्।

Shares

प्रतिक्रिया