निवर्तमान सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री बनाउन सिफारिस भएर पनि पछि सूचीबाट हटाइएकी डाक्टर संगीता मिश्रलाई स्वास्थ्य सेवा विभागका ‘बिचौलियाहरूले निराधार आरोप लगाएको’ दाबी गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस सूची पठाउँदा मिश्रको नाम पनि थियो। तर मिश्रविरुद्ध नागरिकता विवाद र अनियमितताको विषय गम्भीरतापूर्वक उठेपछि आज बिहानै उनको नाम काटेर पुन: चार जनाको मात्र सूची राष्ट्रपति कार्यालय पठाइएको छ।
अर्थात् स्वास्थ्यमन्त्री पदको शपथ खाने दिन मिश्रको नाम काटिएको छ। जसले गर्दा आज दिउँसो २ बजे शीतल निवासमा मिश्रबाहेक अनिलकुमार सिन्हा (उद्योगमन्त्री), महावीर पुन (शिक्षामन्त्री), मदन परियार (कृषिमन्त्री) र जगदीश खरेल (सञ्चारमन्त्री) ले मात्र शपथ खाने भएका छन्।
‘स्वास्थ्यमन्त्री बन्न लागेकी डाक्टर संगीता मिश्रमाथि स्वास्थ्य सेवा विभागमा वर्षौँदेखि रजगज चलाएका केही थान बिचौलियाहरूले निराधार आरोप लगाएका छन्’, निर्वतमान सांसद सिंहले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘विभागमा वर्षौँदेखि खरिद प्रक्रियामा आफ्नो रजगज चलाउने बिचौलियाहरूको निदहराम गरेबापत नै संगीता मिश्रलाइ सचिव बन्नबाट रोकेको थियो।’
‘आज फेरि त्यही सलबलाएका छन् र डाक्टर संगीतालाइ बदनाम गर्न तथाकथित आरोपहरू लगाएका छन्। डा. संगीता एक कुशल नेतृत्वकर्ता हुन्। उनी भ्रष्ट भएको भए पहिले नै सचिव बन्न सक्थिन्। उनको नियुक्तिबाट कांग्रेसका केही नेताहरू पनि आफ्नो कुकृत्य उजागर हुने डरले अतालिएका छन्,’ सिंहले थप लेखेका छन्।
मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्।
उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन्।
उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन्। गत वर्षको फागुनमा डा विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन्। मन्त्री बन्ने तारतम्य मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।
Shares

प्रतिक्रिया