जापानमा प्रहरीको हिरासतमा मारिएका एक नेपालीको परिवारलाई त्यहाँको टोकियो उच्च अदालतले ३ करोड ९० लाख जापानी येन (अर्थात् नेपाली रुपैयाँ ३ करोड ५६ लाख) क्षतिपूर्ति दिन आदेश दिएको छ।
जापानी सञ्चारमाध्यमका अनुसार जापानी प्रहरीको हिरासतमा यातनाका कारण मृत्यु भएका नेपाली नागरिक ३९ वर्षीय अर्जुनबहादुर सिंहसम्बन्धी मुद्दामा टोकियो उच्च अदातले बुधबार उल्लिखित आदेश दिएको हो।
यसअघि सन् २०२३ मा तल्लो अदालतले पीडित परिवारलाई १० लाख येन मात्रै क्षतिपूर्ति दिन टोकियो महानगरीय सरकारलाई भनेको थियो। अहिले टोकियो उच्च अदालतले क्षतिपूर्तिको रकम ३९ गुणा बढी तोकेको हो।
अर्काको क्रेडिट कार्ड राखेको आरोपमा अर्जुनबहादुरलाई सन् २०१७ मा टोकियो प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।
यस क्रममा प्रहरीले भनेको नमानेको भन्दै उनलाई नायलन बेल्टको हतकडीले हात र खुट्टा बाँधेर झन्डै २ घण्टासम्म राखिएको थियो। यसपछि बेहोस भएका उनलाई मृत घोषणा गरिएको थियो।
सन् २०२३ मा टोकियो जिल्ला अदालतले सिंहको मृत्यु त्यही यातनाका कारण भएको ठहर गरेको थियो।
तर क्षतिपूर्तिसम्बन्धी तल्लो अदालतको फैसला उच्च अदालतले यही नोभेम्बर १९ मा अमान्य ठहर गर्दै रकम बढाएको हो।
Shares

प्रतिक्रिया