युरोपेली मुलुक पोल्यान्डमा नेवारी संस्कृति, परम्परा र मौलिक नेवारी खानाको प्रवर्धन गर्न नेवा महोत्सव : नेवा भोज हुने भएको छ।
नेवार समुदायद्वारा मनाइने एक प्रमुख र ऐतिहासिक सांस्कृतिक पर्व सिथी नख: को मेसो मिलाएर ‘वर्ल्ड नेवा अर्गनाइजेसन’ अर्थात् विश्व नेवा संगठन पोल्यान्ड च्याप्टरले जुन २१ मा उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो।
कार्यक्रम पोल्यान्डको राजधानी वारसास्थित स्टुडियो युपी, ओलिम्पिया गोर्चेव्स्का ६२/६४, ०१-४०१ मा दिउँसो १२ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
भोजमा नेपालमा जस्तै मौलिक शैली अनुसरण गर्दै भुइँमा पलेटी कसेर परिकारहरू सर्भ गरिनेछन्।
कार्यक्रममा नेवा समुदायको प्रामाणिक नेवा भोज, धिमे बाजाको धुन, लाखे नाच, ऐला (नेवा मदिरा) तथा गणेश नाच लगायतका नेवारी सांस्कृतिक प्रस्तुतिहरू रहने छन्।
विश्व नेवा संगठन पोल्यान्ड च्याप्टरका अध्यक्ष अभिनाश डंगोल पोल्यान्डमा नेवारी खाना र संस्कृति प्रवर्धनको लक्ष्य राखेर यो कार्यक्रमको आयोजना गरिएको बताउँछन्।
‘नेवा भोज केवल एक सांस्कृतिक कार्यक्रम मात्र नभई यो हाम्रो जरा, पहिचान र एकताको उत्सव हो,’ अध्यक्ष डंगोल भन्छन्।
यस्ता कार्यक्रमले नेवा संस्कृतिलाई विश्वसामु चिनाउने, नेपाली र पोलिस समुदायलाई संस्कृतिको माध्यमबाट जोड्ने तथा युवा पुस्तालाई आफ्नो सांस्कृतिक पहिचान जोगाउन योगदान गर्ने उनको भनाइ छ।
‘हामी सांस्कृतिक आदानप्रदान र एकताका माध्यमबाट सबै समुदायबीच पुल निर्माण गर्दैछौँ,’ अध्यक्ष डंगोल थप्छन्, ‘कार्यक्रमले नेवा संस्कृतिलाई विश्वसामु चिनाउने हाम्रो प्रयास हो।’
पोल्यान्डमा रहेका नेपाली समुदायलाई कार्यक्रममा उपस्थितिका लागि आयोजकको तर्फबाट उनले अनुरोध समेत गरे।
सन् २०२४ मा स्थापित पोल्यान्ड च्याप्टरले नेवार समुदायको मौलिक पर्व तथा संस्कृतिलाई संरक्षण तथा समृद्ध बनाउन समयबजी (सम्यबजी) लगायत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
Shares

प्रतिक्रिया