जर्मनीको गोटिंगन सहरमा बसोबास गर्ने नेपाली समुदायले भजन कीर्तन कार्यक्रम गरेका छन्।
जर्मनीको ऐतिहासिक शैक्षिक सहर गोटिंगनका नेपालीको संस्था गोटिंगन नेपाली समाज (गोनेस)ले शनिबार उक्त कार्यक्रमको आयोजना गरेको हो।
गोटिंगनमा बसोबास गरिरहेका नेपालीमाझ पवित्र धार्मिक र आध्यात्मिक वातावरण सिर्जना गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रमको परिकल्पना गरिएको र यो गोटिंगनमा पहिलो पटक भएको आयोजकको दावी छ।
देश र आफ्नो थातथलो भन्दा हजारौँ माइल टाढा रहेर पनि आफ्नो सनातन धर्म र परम्परालाई जीवित राख्ने यो नौलो प्रयासमा श्रद्धालुहरूको अद्भुत लहर देखिएको आयोजक संस्थाका सचिव श्रीकिशोर गन्धर्व बताउँछन्।
साँझको समयमा भएको भजनमा ५० बढी नेपाली श्रद्धालुको उपस्थिति रहेको थियो।

‘प्रवासमा हाम्रो पहिचान र संस्कृति जोगाउन यो केवल सुरुआत मात्र हो। यस्ता प्रकारका आध्यात्मिक र सांस्कृतिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ र यसलाई गोटिंगनमा मात्र सीमित नराखेर जर्मनीका अन्य सहरमा बसोबास गर्ने नेपालीमाझ पनि पुर्याउने हाम्रो योजना छ,’ सचिव गन्धर्वले भने।
हलभित्र बलिरहेको दियो, अगरबत्तीको सुगन्ध र भगवान्को तस्बिरले विदेशी भूमिमा नेपालकै कुनै पवित्र मन्दिरको झल्को दिइरहेको थियो। कार्यक्रममा परम्परागत नेपाली पोसाकमा सजिएका नेपाली भक्तजनले सुमधुर स्वर, मादल र खैँजडीको मौलिक ताल अनि मुजुराको झंकारका साथ शंखध्वनि गर्दै भजन प्रस्तुत गरेका थिए।
जर्मनीको राजधानी बर्लिनबाट ३ सय ३३ किलोमिटर टाढा रहेको गोटिंगन सहरमा १५० बढी नेपालीको बसोबास छ। प्रवासबाट सांस्कृतिक र आध्यात्मिक क्रान्तिको सुरुआत गर्ने उद्देश्यसहित सन् २०२२ मा गोटिंगन नेपाली समाज (गोनेस) को स्थापना भएको थियो। संस्थाले आगामी जुन १ देखि २८ सम्म इन्टर गोटिंगन ‘गोनेस स्पोर्ट्स मन्थ’ खेलकुद कार्यक्रमको आयोजना गर्दैछ।
Shares

प्रतिक्रिया