युरोपेली मुलुक ग्रिसमा नेपालीहरूको राहदानी नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने भएको छ। भियनास्थित नेपाली राजदूतावास अस्ट्रियाले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो।
भियनाको नेपाली दूतावासले सोमबार जारी गरेको सूचनाअनुसार आगामी मार्च १७ देखि २० तारिख (चैत ३-६) सम्म ग्रिसमा शिविर सञ्चालन हुनेछ।
शिविर मार्च १७ र १८ तारिख (२ दिन) ग्रिसको राजधानी एथेन्सस्थित लियोफोरोस भुलयागमेनिस ३११ आगियोस् दिमित्रियोस् १७२३६ मा हुनेछ।
घुम्ती शिविर राजधानी ग्रिस बाहिर पनि सञ्चालन हुने दूतावासको सूचनामा उल्लेख छ। मार्च १९ र २० मा मानोलादाको कोमेनित्सोताङ्का २७०५२ रोयल क्लब होटलमा हुनेछ।
ग्रिसको मानोलादामा कृषि क्षेत्रमा काम गर्ने धेरै नेपाली बस्ने भएकोले सेवाग्राहीलाई थप सहज होस् भनेर त्यहाँ पनि घुम्ती शिविर राखिएको भियनास्थित नेपाली राजदूतावास अस्ट्रियाका नियोग उपप्रमुख लेखनाथ गौतमले नेपालखबरलाई बताए।
यो राहदानी नवीकरण घुम्ती शिविर तथा अन्य कन्सुलर सेवाबाट ग्रिसमा रहेका धेरैभन्दा धेरै नेपालीले लाभ लिन नियोग उपप्रमुख गौतमले अनुरोध गरे।
अनलाइन आवेदनका लागि फेब्रुअरी २४ तारिख टाइम स्लट घुम्ती सेवाको प्रयोजनको लागि खुला गरिनेछ। आवेदन फारम मार्च ३ तारिखसम्म रुजु गर्नका लागि अनिवार्य रूपमा राजदूतावासमा पठाउनुपर्ने सूचनामा उल्लेख छ।
राहदानीको आवेदन पठाइसकेपश्चात राजदूतावासको बैङ्क खातामा आवेदक स्वयं/कम्पनीको प्रतिनिधि वा साथीभाइ/ आफन्तले राजस्व बापतको रकम अनलाइन ट्रान्सफर गर्दा रेफेरेन्समा अनिवार्य रूपमा आवेदकको नाम लेख्न दूतावासले सूचनामा भनेको छ।
दूतावासको टोलीले घुम्ती शिविरमा आउने सबै नेपालीको आवेदन लिने तर राजस्व बापतको रकम राजदूतावासको खातामा जम्मा नभए राहदानी आवेदन प्रक्रिया अगाडि बढाउन नमिल्ने भएकोले समयमै राजस्व जम्मा गर्न सूचित गरेको छ।
ग्रिसमा अवैधानिक रहेका नेपालीको आफ्नो बैङ्क खाता छैन। जसका कारण राहदानीको सरकारी दस्तुर अनलाइन बैंकिङ् ट्रान्सफर गराउन अस्ट्रियाको नेपाली दूतावासलाई चुनौती भएको बताइएको छ।
यसका लागि दूतावासले राहदानी नवीकरणका लागि आवश्यक कागजातहरूको सम्पूर्ण सूची पनि सार्वजनिक गरेको छ।
तीन वर्षदेखि राहदानीविहीन सिराहाका धनेश्वर यादव ग्रिसमा घुम्ती शिविर आउने थाहा पाएर खुसी हुँदै नेपालखबरसँग टेलिफोनमा भने, ‘धेरै राम्रो भयो सर। तपाईँहरूले पहल गरिदिनु भयो। सबैलाई धन्यवाद छ।’
ग्रिसमा रोजगारीको सिलसिलामा रहेका नेपाली राहदानी नवीकरणमा भएको समस्याबारे धनेश्वरको भनाइसमेत समेटेर नेपालखबरले भिडिओसहितको सामग्री प्रकाशन गरेको थियो।
राजदूतावासद्वारा शिविरका लागि ग्रिसमा सम्पर्क व्यक्ति तोकिएका ग्रिस फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनका संस्थापक अध्यक्ष कृष्ण पोखरेलले नेपालखबरसँग भने, ‘ढिलै भए पनि यहाँ घुम्ती शिविर आउने भएको छ। तर समय थोरै होला कि भन्ने लागेको छ। नेपाल सरकार, भियनाको नेपाली दूतावास तथा विशेष प्राथमिकता साथ खबर प्रकाशन गरिदिने नेपालखबरलाई धन्यवाद।’
भियनास्थित नेपाली राजदूतावासको अस्ट्रियासहित ग्रिस, क्रोएसिया, जर्जिया, अल्बानिया, मोन्टेनेग्रो, स्लोभेनिया, बोस्निया-हर्जगोभिना, उत्तर म्यासेडोनिया समेत ८ वटा देशमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।
Shares

प्रतिक्रिया