हालै नेकपा (माओवादी), एकीकृत समाजवादी तथा एक दर्जन भन्दा धेरै वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आज (डिसेम्बर ७) प्रवासमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ।
नेपाली कम्युनिष्ट पार्टी प्रवास विभागको आयोजनामा अनलाइन जुम प्रविधिमार्फत कार्यक्रम तय गरिएको हो।
यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही, गण्डकीको पोखरा, कोसीको विराटनगर र मधेसको जनकपुरमा प्रदेशस्तरीय एकता सन्देश सभा सम्पन्न गरिसकेको छ।
कार्यक्रमलाई नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको साविक एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहले जानकारी दिए।
‘आज नेपालको समय अनुसार साँझ ६ बजेबाट भर्चुअल एकता सन्देश कार्यक्रम हुने र पूर्वनिर्धारित कार्यक्रम भएकोले विश्वभरबाट एकतामा आएका सबै सङ्गठनका साथीको भव्य सहभागिता हुने तय भएको छ’, शाहले नेपालखबरसँग भने।
एकतामा आएका वाम्पन्थी घटकमध्ये माओवादीनिकट नेपाली जनप्रगतिशील मञ्च र एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च मुख्यगरी प्रवासमा क्रियाशील छन्।
Shares

प्रतिक्रिया