युरोपेली मुलुक चेक रिपब्लिकको राजधानी प्रागमा नेपालीहरूको राहदानी नवीकरणका लागि भएको घुम्ती शिविर सम्पन्न भएको छ।
चेक रिपब्लिकसमेत कार्यक्षेत्र रहेको जर्मनीस्थित नेपाली राजदूतावास बर्लिनले नोभेम्बर २२ र २३ तारिखमा २ दिने शिविर सञ्चालन गरेको हो। अब निकट समयमा पोल्यान्ड र त्यसपछि रोमानियामा घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको दूतावासले जनाएको छ।
दूतावासका प्रथम सचिव रन्जन यादवको नेतृत्वमा स्थानीय कर्मचारी सरिता नेपालसहितको टोलीले प्रागस्थित एभरेस्ट रेस्टुरेन्टमा आज घुम्ती सेवा सम्पन्न गरेको हो।

घुम्ती शिविरमा १ सय २० जना सेवाग्राहीले राहदानी नवीकरण र केहीले कन्सुलर सेवा लिएको जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनका प्रथम सचिव रन्जन यादवले जानकारी दिए।
‘आज निर्धारित समयमै शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविर सम्पन्न गर्नका लागि सहयोग गर्ने एनआरएनए चेक रिपब्लिक, नेपाली संघसंस्था, स्वयंसेवक सबैलाई दूतावासको तर्फबाट धन्यवाद,’ यादवले नेपालखबरसँग भने।
नेपाली राजदूतावास जर्मनीको चेक रिपब्लिकसहित पोल्यान्ड, रोमानिया, स्लोभाक, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत देशहरूमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।
Shares

प्रतिक्रिया