नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति डेनमार्कले बालबालिकाहरूको लागि शैक्षिक सामग्री सहयोगार्थ फुटबल खेल सम्पन्न गरेको छ।
बालबालिकाद्वारा बालबालिकाका लागि बालसिकाइ सम्बन्धी सामग्री सहयोगार्थ १०औँ जनसम्पर्क कप फुटबल प्रतियोगिता शनिबार डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको जसस डेनमार्कले जनाएको छ।
‘सेकेन्ड जेएसएस किड्स समर फुटबल क्याम्प २०२५’ नाम दिइएको उक्त प्रतियोगितामा ६ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई ५ समूहमा विभाजन गरी खेल खेलाइएको समितिका प्रवक्ता पपुलर बेल्वासले जानकारी दिए।
प्रतियोगितामा १३० बालबालिकाको सहभागिता रहेको थियो। खेलमा सहभागी सम्पूर्ण बालबालिकालाई प्रोत्साहन स्वरुप ट्रफी प्रदान गरिएको थियो भने हरेक समूहका प्रथम र द्वितीय स्थान प्राप्त गर्ने खेलाडीलाई मेडल र ट्रफी प्रदान गरिएको बेल्वासेले बताए।

त्यस्तै, १४ र १५ वर्ष उमेर समूहका विजेता टिमका खेलाडीलाई मैयाँ किचेनको तर्फबाट लञ्च तथा डिनरको व्यवस्था गरिएको थियो। जनसम्पर्क डेनमार्कका अनुसार ठूलो उमेर समूहका बालबालिकालाई नेपाली परिकारको स्वाद अनुभव गराउन त्यसो गरिएको हो।
प्रतियोगितात्मक कार्यक्रम नेपाली जनसम्पर्क समिति डेनमार्कका संस्थापक सभापति तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य नवीनराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
प्रतियोगिताका खेलाडी बालबालिकालाई संस्थापक सभापति पौडेल, पूर्व सभापतिहरू यमलाल सुवेदी र रामचन्द्र पाठक, सभापति बुद्धिप्रसाद सापकोटालगायत नेपाली समुदायका संघसंस्थाका प्रतिनिधिले पुरस्कार वितरण गरेका थिए।
खेल संयोजक प्रकाश ढकालले बालबालिकाहरूमा स्पोर्टस्म्यानसिप विकास गर्दै लैजान र शैक्षिक सामग्री सहयोगका खातिर खेलको आयोजना गरिएको बताए।
कार्यक्रमको प्रविधि व्यवस्थापन संस्थाका सहमहामन्त्री तथा कोषाध्यक्ष प्रकाश शर्माले गरेका थिए भने रेफ्रीको भूमिकामा विशेष ढकाल र सोयम पौडेल थिए। यस्तै, कतिपय खेलमा रेफ्रीको जिम्मेवारी बालबालिकालाई नै दिइएको थियो।

संस्थाका सभापति बुद्धिप्रसाद सापकोटाले खेल प्रतियोगिताका लागि डेनमार्कस्थित विभिन्न संघसंस्था र समुदायबाट सहयोग प्राप्त भएको बताए।
स्वस्फूर्त रूपमा अभिभावक, व्यापारिक प्रतिष्ठान, व्यक्ति र समुदायबाट सहयोग भई सम्पन्न भएको प्रतियोगिताले डेनमार्कमा नेपाली समुदायको एकता, बन्धुत्व र परस्पर सहयोगी भावनाको सन्देश गएको सापकोटाको कथन छ।
आयोजक संस्थाले दिएको जानकारी अनुसार, प्रतियोगितामा सहभागी बालबालिकालाई टिनो पिज्जा (विजय अधिकारी)को तर्फबाट जुस, नेप्ट्सोको तर्फबाट फलफूल, एभरेष्ट किचेन (बबी क्षेत्री) र सिटी बजार डेनमार्कको तर्फबाट तरबुजा, नेको इभेन्ट्सको तर्फबाट साफ्ट भ्यान्ड र पिउने पानी सहयोग गरिएको थियो। प्रतियोगिताको फोटो पार्टनरमा फोटो फ्लो रहेको थियो।

त्यस्तै, खेल अवधिभरका लागि आवश्यक बल अन्नपूर्ण एफसीले उपलब्ध गराएको थियो भने अन्य आवश्यक खेल सामग्री हिमालयन स्पोर्टस् क्लब र बेल्लाहोय क्लासिकले उपलब्ध गराएका थिए।
कार्यक्रमको समापनपछि सभापति सापकोटाले सहयोगी संघसंस्था, व्यक्ति तथा समुदायको अग्रसरता र बालबालिका एवं अभिभावकको उत्साहप्रद उपस्थितिले नै कार्यक्रमलाई सफल बनाएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिएका थिए।
साथै, आगामी दिनमा पनि नेपाली समुदायको आपसी सद्भाव र भाइचारालाई एकताबद्ध गर्दै लैजान संस्था दृढ रहेको प्रतिबद्धता व्यक्त गरे। उद्घाटन तथा समापन लगायत सम्पूर्ण कार्यक्रम संस्थाका महामन्त्री कृष्ण गिरीले सञ्चालन गरेका थिए।

Shares

प्रतिक्रिया