गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डको २०२५–२०२७ को कार्यकालका लागि भवीन्द्र गाहा मगर (भविन) र रीता न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ।
आज २६ जुलाईमा आठौं राष्ट्रिय अधिवेशनअन्तर्गत निर्वाचन हुन लागेको हो।
अध्यक्षका प्रत्यासी मगरले जवाफदेहिता र पारदर्शितालाई आफ्नो मुख्य नारा बनाउँदै आफ्ना प्रतिबद्धताहरूका साथ केही दिनअघि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।
प्रत्यासी रीताले पनि आफ्नो उम्मेदवारी दर्ता गरेकी छन्। संस्थालाई समावेशी, सक्षम र सबल बनाउने आफ्नो चुनावी एजेन्डासहित उनी मैदानमा छिन्।
साथै कार्यसमिति सदस्य पदको पनि निर्वाचन हुने भएको छ। ५ सदस्य पदका लागि ७ जना प्रतिस्पर्धीबीच निर्वाचन हुन लागेको हो। नरेन्द्रसिंह थामी, सुनिता लावती, सरोज वस्ती, अम्बिका हाङबाङ, सन्दीप जिसी, आशिष श्रेष्ठ र विपिन पराजुली सदस्य पदका प्रत्यासी हुन्।
कार्यसमितिको अध्यक्ष र सदस्य पदमा निर्वाचन हुने भएको छ भने बाँकी पदमा एकल उम्मेदवारी परेको छ। महिला उपाध्यक्षको पदमा उम्मेदवारी नै परेको छैन।
निर्वाचन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा आनन्द घिमिरे, प्रथम उपाध्यक्षमा पवन खड्का, उपाध्यक्षमा विवशहाङ राई, महासचिवमा उदयराज गिरी, सचिवमा विजय खरेल, कोषाध्यक्षमा युवराज बराल, महिला सचिवमा पदमा पाण्डे देवकोटाको एकल उम्मेदवारी परेको छ।
त्यसैगरी युवा संयोजकमा मनीषकुमार दाहाल, महिला संयोजकमा सुस्मिता थापा तुलाधर तथा लेखा समितिको संयोजकमा कुलबहादुर श्रेष्ठ, सचिवमा झकेन्द्र सापकोटा र सदस्यमा टंक कटुवालको एकल उम्मेदवारी परेको छ।
निर्वाचन समितिले आज पोल्यान्डको समयअनुसार दिउँसो ३ बजेदेखि राति १२ बजेसम्म मतदानका लागि समय तोकेको छ।
निर्वाचन सम्पन्न गर्नका लागि कवीन्द्र सुवेदी संयोजक, राम सुवेदी उपसंयोजक र सुसन परियार सदस्य सचिव तथा विकास दोङ, सन्तोष आचार्य (समीप) सदस्य रहेको ५ सदस्यीय निर्वाचन समितिलाई जिम्मा दिइएको छ।
२०२३- २५ मा ५८४ जना पञ्जीकृत सदस्य रहेको एनआरएनए पोल्यान्डमा यसपटक ५५४ जना मात्र छन्।
Shares

प्रतिक्रिया