जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले रोमानियामा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएको छ।
गत मार्चमा रोमानियामा सञ्चालित घुम्ती सेवा शिविरमार्फत राहदानी बनाउन आवेदन दिएकाहरूको तयार भएको राहदानी वितरण गर्न लागिएको दूतावासले सूचनामार्फत जनाएको छ।
जुलाई २६, २७ र २८ मा रोमानियाको बुखारेस्टस्थित द अदिति किचन रेस्टुराँमा बिहान १० देखि साँझ ६ बजेसम्म राहदानी वितरण हुने सूचनामा उल्लेख छ। साथै आफ्नो राहदानी संकलन गर्न आउँदा पुरानो (हाल प्रयोगमा रहेको) राहदानीसमेत लिएर आउन भनिएको छ।
राहदानी विभाग, काठमाडौँको समन्वयमा बर्लिन दूतावासले बुखारेस्टमा गत मार्च २६ देखि ३१ सम्म घुम्ती शिविर सञ्चालन गरेको थियो।
त्यसैगरी पोल्यान्डको राजधानी वारसामा गत अप्रिल २ देखि ४ सम्म भएको शिविरबाट आवेदन दिएका ८६३ जनामध्ये पहिलो चरणमा २४८ जनाको राहदानी (भोली) जुलाई २० मा वितरण गरिँदै छ। साथै बाँकी राहदानी दूतावासबाट प्राप्त भएपछि छिट्टै वितरण गरिने वार्सास्थित नेपाली वाणिज्यदूतावासले सूचनामार्फत जानकारी दिएको छ।
बर्लिन दूतावासका उपप्रमुख सागरप्रसाद फुयालले घुम्ती शिविरमा राहदानी बनाउन आवेदन दिएका रोमानियाका १६ सय र पोल्यान्डका ८६३ जना नेपालीको राहदानी वितरण गर्न लागिएको बताए।
पहिले राहदानी नवीकरण गर्दा सेवाग्राहीबाट चर्को हुलाक खर्च र अतिरिक्त शुल्क लिएको गुनासो आएकाले दूतावासको तर्फबाट घुम्ती शिविर तथा वितरण प्रणाली चुस्त पारिएको उनले नेपालखबरसँग बताए। साथै निगरानीका कारणले अतिरिक्त शुल्क बन्द भएको उनको भनाइ छ।
नेपाली दूतावास जर्मनीको कार्यक्षेत्र पर्ने रोमानिया र पोल्यान्डमा पहिले भएका घुम्ती शिविरमा राहदानी नवीकरण गर्दा सेवाग्राहीबाट चर्को रकम असुल्ने गरिएको थियो।
खासगरी रोमानियाका तत्कालीन नेपाली वाणिज्यदूत नवराज पोखरेलले राहदानी नवीकरणमा नेपालीहरूबाट महँगो रकम असुलेको पाइएपछि उनलाई उक्त पदबाट बर्खास्त गरिएको थियो। उनीमाथि कारबाही गर्न तत्कालीन राजदूत रामकाजी खड्काले टिप्पणी उठाएर पठाएका थिए।
राहदानीका लागि तोकिएको राजस्वबाहेक अन्य कुनै शुल्क नलिन भन्दै दूतावासले कसैले अनुचित लाभ लिएको पाइएमा नेपाल सरकार तथा सम्बन्धित देशका सरकारलाई कारबाहीका लागि सिफारिस गर्ने सार्वजनिक सूचनामार्फत चेतावनी दिएको थियो।
अहिले शैल रुपाखेती राजदूत भएर आएपछि पनि पनि उनकै कडा निर्देशनका कारण घुम्ती शिविरमार्फत भएका राहदानी नवीकरणमा राजस्वबाहेक अन्य शुल्क कतै लिइएको छैन।
नेपाली राजदूतावास जर्मनीको रोमानियासहित पोल्यान्ड, स्लोभाक, चेक गणतन्त्र, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत देशहरूमा सेवा तथा कूटनीतिक क्षेत्र पर्छ।
Shares

प्रतिक्रिया