युरोपेली मुलुक माल्टामा समुद्रमा डुबेर एक नेपाली युवकको ज्यान गएको छ।
माल्टाको स्लेइमा बिच साइड समुद्रमा डुबेर नवलपरासी (पूर्व) दलदले, देक्चुली-१३ स्थायी घर भएका २५ वर्षीय रोबर्ट न्यौपाने (एलिस) को ज्यान गएको हो।
उनी रोजगारीको सिलसिलामा २० महिनाअघि मात्र माल्टा आएका थिए। माल्टाको क्वर्मीमा बस्ने एलिस ४ जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए।
हिजो (मंगलबार) पौडी खेल्ने क्रममा एलिस अचानक बेहोस भएका थिए। उनीसँगै पौडी खेलिरहेका साथीहरूले एम्बुलेन्स बोलाएर उपचारका लागि मातर देई अस्पताल लगे पनि चिकित्सकले मृत घोषित गरेको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए।
अहिले उनको शव माल्टाको मातर देई शवगृहमा राखिएको छ। आवश्यक कानुनी प्रकृया पूरा गरी नेपाल पठाइने खनालले बताए।
शव नेपाल पठाउन एनआरएनए माल्टाले गो गेट फन्डमार्फत आर्थिक सहयोग संकलन अभियान सुरु गर्दै सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।
अध्यक्ष खनालले नेपालखबरसँग भने, ‘हामी आफन्त र परिवारको सम्पर्कमा पुगिसकेका छौँ, सम्भव भएसम्म परिवारलाई आर्थिक सहयोग पनि उपलब्ध गराउँछौँ।’
Shares

प्रतिक्रिया