केही दिन अगाडि युरोपेली मुलुक पोल्यान्डमा दलित समुदायलाई लक्षित गरेर अपमानजनक शब्द प्रयोग गरेका प्रज्वल सुवेदीले सार्वजनिक माफी मागेका छन्।
नोप्स युरोपलाई बोधार्थ दिएर सुवेदीले प्रेस विज्ञप्तिमार्फत आफ्नो अभिव्यक्तिले ‘नेपाली दलित समुदायमा गहिरो चोट पुगेकोप्रति आफू अत्यन्त दु:खी भएको’, बताएका छन्।
‘दलित समुदायको मान, सम्मान र आत्मसम्मानमा चोट पुर्याउने नियत नभई आवेगमा आएर त्यस्तो अमर्यादित शब्द प्रयोग गरेकोमा अत्यन्त लज्जित छु,’ सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘यसप्रकारको व्यवहार भविष्यमा कहिल्यै दोहोर्याउने छैन।’
सुवेदीले पोल्यान्डमै वैदेशिक रोजगारीमा रहेका विक थरका एक युवकलाई जातीय भेदभावजन्य शब्द प्रयोग गरेका थिए।
सुवेदी नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी पोल्यान्डका सचिवालय सदस्य एवं पूर्वसचिव समेत हुन्।
एमालेनिकट प्रवास संगठनका नेता सुवेदीमाथि जातीय विभेदको आरोप
सुवेदीको सुन्न र उल्लेख गर्नै नसकिने शब्दहरूको प्रयोगले दलित समुदायलाई जातीय भेदभावका साथै अपमानित गरेको भन्दै नेपाल उत्पीडित जातीय समाज (नोप्स), युरोप लगायतका दलित संघसंस्थाले विरोध गरेका थिए।
उनले विज्ञप्ति निकालेर माफी मागेपछि भने एक पटकको लागि उनलाई माफी दिइएको नेपाल उत्पीडित जातीय समाज, युरोपका अध्यक्ष अर्जुन सुनारले बताए।
सुनारले नेपालखबरसँग भने, ‘निज सुवेदीको सोच र व्यवहारमा कुरीति र कुसंस्कारको भावना प्रचुर मात्रामा देखिन्छ। यद्यपि मानवीय नाताले एकपटकको लागि उनलाई माफी दिने संस्थागत निर्णय भएको छ।’
साथै उनले जातीय विभेदको यो घटनालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने टिकटकर पेम्बा शेर्पा तथा समतामूलक समाज रूपान्तरका पक्षधरहरूलाई धन्यवाद दिए।

Shares

प्रतिक्रिया