युरोपेली मुलुक पोल्यान्डमा पहिलोपटक नेवार समुदायको मौलिक पर्व समयबजी (सम्यबजी) भव्य रुपमा मनाइएको छ।
विश्व नेवा संगठन पोल्यान्ड च्याप्टरले हिजो आयोजना गरेको कार्यक्रम पोल्यान्डको राजधानी वारसास्थित स्पाइस गार्डेन रेस्टुरेन्टमा भएको हो।
पोल्यान्ड च्याप्टरका अध्यक्ष अभिनाश डंगोलले नेवा संस्कृति र भोजनको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यसहित आयोजित सम्यबजी पर्व कार्यक्रम ऐतिहासिक रुपमा सफल भएको बताए।
कार्यक्रममा उपस्थित भएर हौसला प्रदान गर्ने पोल्यान्डका नेपाली संघसंस्थाका प्रतिनिधि,पोलीस नागरिक, सहयोगी हातहरू, पोल्यान्ड च्याप्टरका सबै नेवा बन्धुहरुलाई उनले धन्यवाद दिएका छन्।यो अनुभवबाट आगामी वर्षहरूमा सम्यबजी पर्व जस्ता हाम्रा मौलिक सांस्कृतिक कार्यक्रमहरु मनाउने उर्जा मिलेको उनले बताए।
मौलिक पर्व समयबजीको अवसरमा चिउरा, बारा / वो, छोइला, भट्मास, आलुतामा, नेवा परिकारका विशेष मिठाइहरू र ऐला (नेवा मदिरा) लगायतका नेवारी परिकारहरुको कार्यक्रममा व्यवस्था गरिएको थियो।
साथमा लाखे नाच, धिमे नाच, कुमारी नृत्यलगायतका नेवारी सांस्कृतिक प्रस्तुतिहरुमा के नेपाली, के विदेशी सबैले मनोरञ्जन गरेका थिए।
नेवारी खानामा निकै लोकप्रिय सम्यबजीमा ८४ प्रकारका परिकारहरु हुन्छन्। यो खानाले शरीरमा तापक्रम बढाई ऊर्जा दिने र यसले आउँदो वर्षमा समेत ऊर्जा प्रदान गर्ने जनविश्वास छ।






Shares

प्रतिक्रिया