आजबाट उपयोगमा नआउने
पुरानो क्यालेन्डर भएँ म
ध्वाँसोले मैलिएको
स्वरुप उही
अक्षर, अंक, रङ र
वर्ष बदल्न नसक्ने
र त सकिएँ तिमीसँगको वर्षहरू
तिम्रो मन मझेरीको
पुराना किला काँटीहरूमा
बस्दा तिमीले भुइँमा झार्दा
मेरा शिखामा लागेका
खियाहरूले
गगन चुम्न उचालिएका
तिम्रा इच्छाहरू नभेटुन्
हाम्रा प्रेमका अनिद्राका
रातदिन, बार, गते र महिनाहरू
हरेक छटपटी र कोल्टेसँगै
भोलि पल्टिरहनेछन्
वर्तमान नामक
अनिश्चितताका चिसा भित्ताहरूमा
र,
झुन्डिइ नै रहन्छन्
खियाले खाइरहेको
वियोगको रुग्ण हृदयको किलाकाँटीमा।
त्यही एउटा किला
त्यही एउटा साल
त्यही एउटा तिथिमिति
त्यही एउटा दिनले
हाम्रो निर्वासित सपनाहरू
हत्या गरेको छ
त्यसैले,
आज ठिक-ठाकको क्यालेन्डर
बिक्रीमा छ।
120
Shares

प्रतिक्रिया