युरोपेली मुलुक रोमानियामा नेपाली नयाँ वर्षको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ।
कार्यक्रममा आफ्नो प्रस्तुति दिन गायिका ज्योति मगर रोमानिया आउने भएकी छिन्। साथमा गायिका जितु लोप्चन र डान्सर सरिष्मा मगर पनि हुनेछन्।
रोमानियाको राजधानी बुखारेस्टमा अप्रिल २० मा हुन लागेको 'याद म्युजिकल फेस्टिभल' कार्यक्रममा सहभागी हुन रोमानियामा रहेका नेपालीलाई ज्योतिले सामाजिक सञ्जालमार्फत चुले निम्तो दिएकी छिन्।
कार्यक्रमका संयोजक तथा याद म्युजिकल फेस्टिभलका प्रमुख नरेश गिरीका अनुसार कार्यक्रम बुखारेस्टस्थित द प्यालेस हल (साला पालातुलिई) मा दिउँसो १२ बजेबाट हुनेछ।
गायिकाद्वय ज्योति मगर र जितु लोप्चन तथा डान्सर सरिष्मा मगरको साथमा रोमानियामा रहेका नेपाली कलाकारको समेत प्रस्तुति रहने गिरीले बताए। उनले कार्यक्रममा ८ सयदेखि १ हजारसम्म दर्शकको उपस्थिति रहने अपेक्षा अनुसार तयारी भइरहेको पनि उनले जानकारी दिए।
रोमानियामा नेपाली कला र संस्कृति प्रस्तुत गर्ने याद म्युजिकल फेस्टिभल यहाँको नेपाली समुदायमा लोकप्रिय बन्दै गएको छ। यसपालि तेस्रो संस्करणको कार्यक्रम हुन लागेको हो।
कार्यक्रमका सहसंयोजकद्वय फुर्साङ लामा र युवराज लामिछाने रहेका छन्।
ज्योति मगर आफ्नो फरक प्रस्तुतिका कारण धेरै युवाको रोजाइमा पर्न सफल गायिका हुन्। मेला, महोत्सवदेखि विदेशसम्मका साङ्गीतिक कार्यक्रममा उनको उच्च माग छ।
Shares

प्रतिक्रिया