प्रवास


एनआरएनएले गर्‍यो १२औँ महाधिवेशनको तयारी प्रारम्भ

एनआरएनएले  गर्‍यो १२औँ महाधिवेशनको तयारी प्रारम्भ

नेपालखबर
चैत २५, २०८१ सोमबार १२:१७, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आउँदो अक्टोबरमा हुने १२औँ अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको तयारी प्रारम्भ गरेको छ।

संघका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार सम्पन्न पदाधिकारी बैठकले सबै राष्ट्रिय समन्वय समिति (एनसीसी)हरूलाई यही अप्रिल १५ भित्र संघको मेम्बर इन्फरमेसन सिस्टम (एमआईएस) मार्फत सदस्यता खुला गर्न निर्देशन दिएको छ।

बैठकले एमआईएस प्रणाली बाहेक अन्य माध्यमबाट प्राप्त सदस्यतालाई मान्यता नदिने निर्णय गरेको छ। साथै, संघको निर्देशन अवज्ञा गर्ने एनसीसीहरूलाई केन्द्रीय स्तरबाट सदस्यता वितरणका लागि प्रमाणीकरण गर्ने व्यक्ति तोकिनेछ।

बैठकले थाइल्यान्डमा सम्पन्न युवा तथा पीएनओ सम्मेलन, कम्बोडियामा सम्पन्न एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन र माल्टामा सम्पन्न युरोप क्षेत्रीय सम्मेलनलाई सफल बनाउन योगदान गर्ने आयोजक क्षेत्र, एनसीसी, केन्द्रीय प्रतिनिधि, सहभागी, प्रायोजकहरू, स्वयंसेवक, पत्रकार तथा नेपाल सरकारका सम्बन्धित निकायलाई धन्यवाद प्रस्ताव पारित गरेको छ।

त्यस्तै, आफ्नै भवन निर्माण गर्न चाहने राष्ट्रिय समन्वय समितिहरूलाई प्रोत्साहनस्वरूप आवश्यक लागतमा सदस्यता शुल्कको ४० प्रतिशत आर्थिक सहयोग केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने निर्णय पनि गरेको छ।

बैठकले १२औँ महाधिवेशन तथा एकता अभियानलाई सर्वोच्च अदालतको निर्णयको भावनाअनुसार विधिसम्मत रूपमा सञ्चालन गरिने प्रतिबद्धता दोहोर्‍याएको छ।

साथै, सबै एनसीसीहरूको निर्वाचन सन् २०२५ को जुलाईभित्र सम्पन्न गरी त्यसपछि महाधिवेशन आयोजना गरिने निर्णय पनि बैठकले पुनः पुष्टि गरेको छ।

गैरआवासीय नेपाली संघले नेपालमा जेठमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदमा प्रवासी नेपालीको सहभागिता सुनिश्चित गर्न रु. ७५ लाखको बजेट प्रस्ताव गरेको छ।

बैठकले टिम खेलकुदका लागि खेलाडी छनोट र नेपालसम्मको यात्रा व्यवस्थापन सम्बन्धित एनसीसीलाई जिम्मा दिने निर्णय गरेको छ। संघको केन्द्रीय स्पोर्ट्स एकेडेमीको समन्वयमा करिब आधा दर्जन खेलमा सहभागिता जनाइनेछ।

क्रिकेटको व्यवस्थापन अस्ट्रेलिया एनसीसी, भलिबलको जापान एनसीसी, र फुटबलको माल्टा एनसीसीलाई जिम्मा दिइने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad