प्रवास


कांग्रेसले खोल्यो नेपाली मूलका विदेशी नागरिकलाई जनसम्पर्कको ढोका

कांग्रेसले खोल्यो नेपाली मूलका विदेशी नागरिकलाई जनसम्पर्कको ढोका

नेपालखबर
चैत १२, २०८१ मंगलबार १८:३८, काठमाडौँ

नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समितिमा अब नेपाली मूलका विदेशी नागरिकले पनि सदस्यता लिन पाउने भएका छन्।

प्रवासमा रहेर नेपाली कांग्रेससँग आस्था राख्नेहरू आबद्ध रहने यस संस्थाका सम्बन्धमा कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको छ।

यही चैत १० गते बसेको बैठकले अब उप्रान्त नेपाली मूलका विदेशी नागरिकले पनि जनसम्पर्कको सदस्य बन्न पाउने गरी निर्णय गरेको हो।

जसअन्तर्गत अब विदेश गएर उतैको नागरिकता ग्रहण गरिसकेका व्यक्तिले पनि जनसम्पर्कको सदस्य बन्न पाउने भएका हुन्।

यसका लागि गैरआवासीय नेपाली परिचयपत्र वा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको भने हुनु पर्दछ।

‘नेपाली जनसम्पर्क समितिको अध्यक्ष, पदाधिकारी वा सदस्य नेपाली जनसम्पर्क समितिको विधानमा व्यवस्था भएबमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्य वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको सदस्यमध्येबाट चयन हुन सक्नेछ,’ महामन्त्री गगन थापाद्वारा प्रस्ताव गरिएको छलफलउपर निर्णय गर्दै सम्पादन समितिको निर्णयमा भनिएको छ, ‘जनसम्पर्क समितिको सदस्यता प्राप्त गर्न गैरआवासीय नेपाली परिचपय पत्र वा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्ति समेतलाई बाधा पुग्ने छैन।’

यसअघि नेपाली नागरिकता निस्क्रिय भइसकेका व्यक्तिले जनसम्पर्कको सदस्य बन्न पाउने व्यवस्था थिएन। अबको निर्णयले सदस्यता लिएर अध्यक्षसमेत बन्न पाउने गरी व्यवस्था गरेको हो। तर, यो व्यवस्थामा टेकेर अध्यक्ष बनेका व्यक्ति महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भने हुन पाउने छैनन्।

कांग्रेसको विधानमा विदेशस्थित जनसम्पर्क समितिका अध्यक्ष स्वत: महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुने व्यवस्था थियो। अब यो धारालाई हटाइएको छ।

यो व्यवस्था लागु हुनुपूर्व क्रियाशील सदस्यता प्राप्त गरेका विदेशी नागरिकको हकमा उनीहरूले प्राप्त गरेको क्रियाशील सदस्यता जनसम्पर्क समितिको सदस्यतामा रूपान्तरित हुने व्यवस्था पनि कांग्रेसले गरेको छ।

यसरी रूपान्तरित भएको सदस्यता क्रियाशील सदस्यता पाएकै अवधिदेखि पार्टीमा संलग्नताको निरन्तरतामा समेत गणना हुनेछ।

महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य संख्यासम्बन्धी व्यवस्था भने पुरानै ढाँचामा राखिएको छ।

जसअन्तर्गत, कम्तीमा सय जना कांग्रेसको क्रियाशील सदस्य रहेको जनसम्पर्कको अधिवेशनबाट एक जना केन्द्रीय महासमिति सदस्यमा निर्वाचित हुनेछन्।

यसैगरी, पाँच सय वा सोभन्दा बढी क्रियाशील सदस्य भएको जनसम्पर्कबाट सात जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट तीन जना केन्द्रीय महासमिति सदस्य रहने छन्।

दुई हजार वा सोभन्दा बढी क्रियाशील सदस्य रहेको जनसम्पर्कबाट १४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र यिनै प्रतिनिधिमध्येबाट ६ जना केन्द्रीय महासमिति सदस्य चुनिने छन्।

पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि तोक्दा एक देशबाट बढीमा १४ जना र केन्द्रीय महासमिति सदस्यमा ६ जनाभन्दा बढी तोक्न नपाउने व्यवस्था गरेको छ।

चैत १० गतेको केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय भएको यो व्यवस्था आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन भएपछि लागु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad