गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता राजेन्द्रकुमार (आरके) शर्माले एकताको महाधिवेशनको कुनै पनि विकल्प नभएको बताएका छन्।
एनआरएनए बेल्जियमद्वारा उच्चस्तरीय समितिका अध्यक्ष शेष घले तथा समितिका सदस्यहरूसँग सोमबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै शर्माले एकता महाधिवेशनलाई सफल पार्न सक्दो सहयोग गर्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूलाई आग्रह गरे।
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सोल्टी होटेलमा सुनाएको एक कथा सम्झँदै उनले भने, ‘एक जना बालकले आफ्नो बाबुलाई झोला किनिदिन भनेछन्। बाबुले झोला किनिदिए। त्यसपछि छोराले हात्ती किनिदिन भने। बाबुले हात्ती पनि किनिदिए। अनि छोराले त्यो हात्तीलाई झोलामा हाल्न भने। अब हात्तीलाई झोलामा कसरी हाल्ने?’
कथामा जस्तै शर्माले पनि बद्री केसीलाई बालहठ छाड्न आग्रह गर्दै भने, ‘त्यसैले बद्रीजी, बाल हठ छोड्नोस्। तपाईँका केही विषय छन् भने अप्रिल पहिलो साता काठमाडौँमा बन्द कोठामा बसौँ। छलफल गरौँ। जसरी पनि निकास निकालौँ।’
बद्री केसीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा एनआरएनए एकताका लागि विनोद कुँवर समूहसँग गरेको सहमति पालना नगरेको आरोप अभियन्ता शर्माले लगाए।
‘सहमतिमा हस्ताक्षर गर्यौँ, तर लागु गरिएन। सन् २०२३ मा निर्वाचनमा आपराधिक तरिकाले फ्रड गरियो, अर्कैको नाममा भोट हालियो। बाध्य भएर हामीले अर्को कमिटी गठन गर्नु पर्यो।’
सर्वोच्च अदालतको परमादेशअनुसार क्रियाशील उच्चस्तरीय समितिले एकताको महाधिवेशनका लागि मे ३–५, २०२५ मा काठमाडौँमा मिति तोकिसकेको छ।
अभियन्ता शर्माले अदालतको परमादेशलाई बेवास्ता गर्न नमिल्ने बताउँदै सबैलाई सहमतिमा आउन आग्रह गरे।
समय कम भएकाले कम्तीमा अप्रिल १० भित्र वार्ता गरेर सबैलाई सहभागी गराउने वातावरण बनाउन उनले उच्चस्तरीय समितिलाई आग्रह गरे।
‘एनआरएनएभित्रको अहिलेको गतिविधिमा म पनि पूर्ण रूपमा सन्तुष्ट हुन सकेको छैन,’ शर्माले भने, ‘तर, संस्थाको बृहत्तर हितका लागि सबैले विगत बिर्सिएर अघि बढ्नुपर्ने बेला आएको छ।’
उनले बद्री केसी समूहलाई अदालतको आदेश बमोजिम एमआइएस प्रणालीमा उच्चस्तरीय समितिलाई पहुँच दिन आग्रह पनि गरे। अदालतको आदेश पालना गर्नुको विकल्प नरहेकोमा उनको जोड थियो।
Shares

प्रतिक्रिया