प्रवास


अस्ट्रेलियाको एडिलेड र मेलबर्नपछि क्यानबेरामा गुन्जियो कन्दरा

अस्ट्रेलियाको एडिलेड र मेलबर्नपछि क्यानबेरामा गुन्जियो कन्दरा

नेपालखबर
चैत १०, २०८१ आइतबार १९:२८, अस्ट्रेलिया, क्यानबेरा

नेपाली लोकपप संगीतको चर्चित ब्यान्ड कन्दराले अस्ट्रेलिया भ्रमणको तेस्रो कन्सर्ट क्यानबेरामा गरेको छ।

करिब १० हजार दर्शकको रहेको कार्यक्रमले नेपाली संगीतप्रेमीको मन जितेको थियो। ब्यान्डले आफ्ना कालजयी गीतहरू प्रस्तुत गर्दा दर्शकहरू एकस्वरमा गाइरहेका थिए र सम्पूर्ण कार्यक्रम संगीत र भावनाले भरिपूर्ण बनेको थियो।

कन्सर्टको सबैभन्दा महत्त्वपूर्ण क्षण तब आयो जब ब्यान्डका मुख्य गायक विवेक श्रेष्ठले ‘जति माया लाए पनि’ गीत प्रस्तुत गर्ने क्रममा दर्शकलाई प्रश्न गरे, ‘यो गीतको गायक को हुनुहुन्छ?’
भीडबाट एक स्वरमा उत्तर आयो, ‘अरुण थापा!’

उनले पुनः प्रश्न गरे, ‘गीतकार नि?’
भीड केही क्षण मौन रह्यो।

यही मौनतालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘हो, यही हो हामीले भन्न खोजेको कुरा। गायकलाई मात्र होइन, गीत बनाउने हरेक सर्जक-गीतकार, संगीतकार, एरेन्जर सबैलाई सम्मान दिनुपर्छ।’

यति भन्दै श्रेष्ठले ‘जति माया लाए पनि’ का गीतकार स्व. विनोद गौचन भएको बताए। जसले यो कालजयी सिर्जना गरेका थिए। नेपाली संगीतमा गीतकार र संगीतकारको योगदान अमूल्य रहेको उल्लेख गर्दै श्रेष्ठले कन्दरा ब्यान्डका मुख्य संगीतकार तथा गीतकार सुनील थापालाई विशेष सम्मान प्रकट गरे।

‘संगीत भनेको सिर्जना हो, सिर्जनामा संलग्न सबै सर्जकको योगदान उत्तिकै महत्त्वपूर्ण छ,’ श्रेष्ठले भने, ‘नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा अझ मजबुत बनाउने हाम्रो यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण दर्शकलाई हृदयदेखि धन्यवाद।’


क्यानबेरामा कन्दराले  ‘चन्चले कान्छी’, ‘तगारोमा रुमाल राखी’, ‘तिमी पारी’, ‘लेक कि हे माया’, ‘हङकङ पोखरा’ जस्ता लोकप्रिय गीत प्रस्तुत गरेको थियो।

दर्शकहरू हरगीतमा ताली, उत्साह र गुञ्जयमान स्वरमा सहभागी भइरहेका थिए।

कन्दराले यसअघि एडिलेड र मेलबर्नमा पनि प्रस्तुति दिएको थियो। क्यानबेरापछि अब टोली तास्मानियाको होबार्ट, त्यसपछि ब्रिसबेन र न्युक्यासलमा कन्सर्ट गर्दै यसपालिको अस्ट्रेलिया भ्रमणलाई समापन गर्ने तयारीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad