प्रवास


पोल्यान्डमा राहदानी नवीकरण घुम्ती शिविर सञ्चालन हुने, यी हुन् आवश्यक कागजात

पोल्यान्डमा राहदानी नवीकरण घुम्ती शिविर सञ्चालन हुने, यी हुन् आवश्यक कागजात

शेरबहादुर परियार
चैत ७, २०८१ बिहिबार २२:५४, (वार्सा) पोल्यान्ड

पोल्यान्डको राजधानी वार्सामा नेपालीहरूको राहदानी नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने भएको छ।

जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिन र राहदानी विभाग, काठमाडौँको संयुक्त प्रयासमा शिविर सञ्चालन हुन लागेको हो।

पोल्यान्डमा राहदानी नवीकरण नहुँदा धेरै नेपाली समस्यामा परेको समाचार आएपछि राहदानी विभाग काठमाडौंबाट रोमानियामा आउने टोलीलाई नै पोल्यान्ड ल्याएर शिविर सञ्चालन गर्न लागिएको दूतावासका नियोग प्रमुख सागरप्रसाद फुयालले जानकारी दिए। 

बर्लिन दूतावासले बिहीबार जारी गरेको सूचनाअनुसार अप्रिल २, ३ र ४ (चैत्र २०, २१ र २२) मा शिविर चल्नेछ। घुम्ती सेवा सञ्चालन हुने स्थान बारेमा अर्को सूचनामार्फत यथाशीघ्र जानकारी गराइने विज्ञप्तिमा उल्लेख छ।

पोल्यान्डमा राहदानी नवीकरण नहुँदा नेपालीहरूलाई समस्या परेकोबारे नेपालखबरले खबर प्रकाशित गरेपछि यसबारे प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सरकारको ध्यानाकर्षणसमेत गराएका थिए।

दूतावासले जारी गरेको सूचनाअनुसार, २ अप्रिल २०२६ भन्दा अगावै नेपाली राहदानीको म्याद सकिन लागेका पोल्यान्डमा बस्दै आएका नेपालीले नवीकरण गर्न सक्नेछन्। 

यसका लागि दूतावासले आवश्यक कागजातहरूको सूची पनि सार्वजनिक गरेको छ। 

आवश्यक कागजातमा सक्कल नागरिकता र सोको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकताको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि रहेका छन्।

राहदानी विभागको वेबसाइटमा रीतपूर्वक भरिएको अनलाइन फारामको बारकोडसहितको प्रिन्ट पनि राहदानी सेवाका लागि अनिवार्य गरिएको छ।

अनलाइन फाराम भर्दा नेपाली नागरिकताको दुवै भाग, राहदानीको फोटो भएको पेज र नजिकको व्यक्ति भएको पेज अपलोड गर्नुपर्नेछ।

दूतावासको समन्वयमा राहदानी विभागले अनलाइन फाराम भर्दा मार्च २९ गते शनिबार र मार्च ३० गते आइतबार स्लटहरू पोल्यान्डको घुम्ती सेवाको प्रयोजनको लागि मात्र अप्वान्टमेन्ट डेट बुक गर्नका लागि खुला गरिने छ।

३४ पेजको विद्युतीय राहदानीको राजस्व (दस्तुर) १२० युरो तोकिएको छ। दस वर्षमुनिका नाबालकको विद्युतीय राहदानी ११० युरो (६० राहदानी दस्तुर र ५० जन्मदर्ता शुल्क) तोकिएको छ।

हराएको वा बिग्रिएको (पाना च्यातिएको/मसी पोखिएको/केरमेट भएको) हकमा १८० युरो तिर्नुपर्छ।

दस्तुर जम्मा गर्नका लागि नेपाली राजदूतावास, बर्लिनको बैंक खाताको विवरण पनि दूतावासले सूचनामा उल्लेख गरिदिएको छ।

राहदानी दस्तुर वापतको रकम बैंक ट्रान्सफर गर्दा तोकिए बमोजिमको पूरै रकम दूतावासको बैंक खातामा सम्बन्धित आवेदकले अनिवार्य रूपमा आफ्नै नाममा ३० मार्चसम्ममा जम्मा गरेको हुनुपर्ने सूचनामा लेखिएको छ। रकम तिर्दा लाग्ने शुल्क सेवाग्राहीकै खाताबाट बेहोर्नुपर्नेछ। 

'पोल्यान्डमा रहेका नेपालीका लागि राहदानी सेवा प्रदान गर्न करिब एक वर्षपछि यो घुम्ती सेवा सञ्चालन हुन लागेको र यसबाट सेवा लिने नेपालीहरूको संख्या ठूलो रहने अनुमान गरिएको छ,' सूचनामा लेखिएको छ, 'तसर्थ, आफ्नो राहदानीको लागि अनलाइन फारम आफैं भर्नुहुन र त्यसरी फर्म भर्न नसक्नेलाई सँगै रहेको जान्ने व्यक्ति स्वयंसेवी भावले फर्म भर्न सहयोगका लागि अनुरोध गरिन्छ।'

राहदानी प्रक्रियाका लागि सहयोग गर्ने नाममा कुनै पनि प्रकारको अनुचित लाभ लिएको पाइएमा कानुनअनुसार कारबाहीको लागि नेपाल सरकारको सम्बन्धित निकाय तथा पोल्यान्ड सरकारको सम्बन्धित निकायमा लेखी पठाउने चेतावनी पनि दूतावासले दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad