प्रवास


नेपाल फेस्टिवलमा यसरी झुमे अस्ट्रेलियाका एडिलेडवासी नेपाली

समीक्षाले पारिन् ‘दुस्मन हेरेको हेर्‍यै’, अविनासको मादलले नचायो पूरै पार्क
नेपाल फेस्टिवलमा यसरी झुमे अस्ट्रेलियाका एडिलेडवासी नेपाली

प्रशान्त लामिछाने
फागुन २६, २०८१ सोमबार १३:५३, एडिलेड, अस्ट्रेलिया

दक्षिण अस्ट्रेलियामा रहेको नेपाली समुदाय आइतबार (९ मार्च) को पर्खाइमा थिए।

यस वर्ष यो दिनको नेपालीमाझ विशेष अर्थ छ। किनभने, परदेशको व्यस्त जीवनमा आइतबार यस्तो एउटा कार्यक्रम थियो जहाँ ‘मिनी नेपाल’को झल्को आउँथ्यो।

एडिलेड सहरको बीचबाट बग्ने टोरेन्स नदी किनारमा इल्डर पार्क। यही पार्क ‘नेपाल फेस्टिवल’का लागि सजिएको थियो।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा अस्ट्रेलियाका सहरहरूमा नेपाल फेस्टिवल आयोजना हुने गर्छ। यो एक किसिमले विदेशमा नेपालीहरूको ‘पर्व’कै रूपमा विकास भइरहेको छ।

एनआरएनए अस्ट्रेलियाका केन्द्रीय सचिव थीर गुरुङको विचारमा नेपाल फेस्टिवलले विदेशमा नेपाली संस्कृति जोगाउने काम गरिरहेको छ।

‘नेपाल फेस्टिवल हाम्रो संस्कृति जोगाउने विषयसँग पनि सम्बन्धित छ’, गुरुङ भन्छन्, ‘विदेशमा हुर्किरहेको दोस्रो पुस्तामा नेपाली संस्कृति सिकाउने बुझाउने प्रयास पनि हो।’

विदेशमा नेपाल चिनाउने र पर्यटन विकासमा पनि यस्ता कार्यक्रमले सहयोग गरिरहेको गुरुङको बुझाइ छ।

फेस्टिवलमा ‘नेपाल हाउस’ नाम दिएर छुट्टै स्टल तयार पारिएको थियो। जसमा नेपाल झल्किने सामानहरू राखिएका थिए। गुरुङ, थारू, मगर, तामाङ, नेपाल लगायत नेपाली परम्परागत संस्कृतिको झलक त्यहाँ थियो।

नौमती बाजाको सेटसहित अन्य आदिवासी समुदायले प्रयोग गर्ने सांगीतिक साधन त्यहाँभित्र थिए।

नेपाल हाउसको प्रवेशद्वारमै बनाइएको थियो विवाह मण्डप। तस्बिर खिच्न मिल्नेगरी थियो ‘आँखीझ्याल’।

बौद्ध स्तुपा, धरहराको अगाडि फोटो खिच्नेको भीड नै थियो। अर्को आकर्षण थियो- नेपालमा मात्र पाइने एकसिङ्‌गे गैँडा। गैँडाको मूर्ति वास्तविक आकारमा तयार पारिएको थियो र यसको छेवैमा गैँडाको बच्चाको पनि। फेस्टिवलमा यहाँ जीवन्त नेपाल देख्न सकिन्थ्यो।

कार्यक्रमको अर्को आकर्षण नेपाली ‘फुड स्टल’ थियो। जहाँ नेपाली स्वादका खानेकुराहरू राखिएका थिए।

कार्यक्रम सुरु हुनु अगाडि सांस्कृतिक झाँकी एल्डर्स पार्क पुगेको थियो। औपचारिक कार्यक्रमपछि सांगीतिक माहोल त जम्नु नै थियो। ‘कन्सर्ट’का लागि आइपुगेका थिए समीक्षा अधिकारी, शिव परियार र चर्चित कन्दरा ब्यान्ड।

जब पर्‍यो साँझ
अस्ट्रेलियाको मौसम अहिले गर्मी छ। दिनभरको गर्मीले कार्यक्रममा आएकाहरू छेउछाउमा छहारी खोज्दै बसिरहेका छन्। जब साँझ पर्‍यो विस्तारै शीतल छाउन सुरु गर्‍यो। टोरेन्स नदी कुनै गडगडाहटविना सौम्य रूपमा बगिरहेको छ। सहरको प्रकाश परावर्तन हुँदा टोरेन्सको सुन्दरता अझ बढी देखिन्छ।

साँझसम्म हजारौँ नेपाली समुदायले एल्डर्स पार्क भरिइसकेको थियो, जहाँ अब सांगीतक महोल जम्नेवाला थियो।

स्टेजमा देखिइन्‌ समीक्षा अधिकारी। समीक्षाले स्टेजबाट ‘हेल्लो एडिलेड…’ भनिरहँदा ‘दर्शक हेरेको हेर्‍यै…’ अर्थात्‌ दर्शकले उनको नयाँ गीतको फर्माइस गरिहाले- दुस्मन हेरेको हेर्‍यै। अवस्था कस्तो आयो भने उनले यो गीत तीन पटक गाउनुपर्‍यो। दर्शकले उनलाई साथ दिइरहे, नाचिरहे।

समीक्षापछि मन्चमा देखापरे शिव परियार। नेपाली संगीतमा उनको छुट्टै पहिचान छ। उनका गजलले आम मानिसलाई हुरुक्कै बनाउँछन्‌। ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले…’ उनले आफ्ना केही चर्चित गीत गाएर बिदा भए।

अन्तिम प्रस्तुति थियो चर्चित ब्यान्ड कन्दराको।

९० को दशकको यो चर्चित पोखरेली ब्यान्डका आफ्नै खालका फ्यान छन्। लामो समयको पर्खाइपछि अहिले कन्दरा जुर्मुराएको छ। ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठ विदेश बसाईलाई बिट मार्दै नेपाल फर्केर कन्दरालाई फेरि झङ्‌कृत गरिरहेका छन्। उनलाई विदेशका सुखदु:खहरू प्रस्ट थाहा छ। उनले मन्चबाट पनि यसको आभाष दिलाएका थिए।

हङकङ पोखरा
निरमोही आफ्नो को छ र…!

कन्दराको यो लिड गीतको अर्को अन्तरा छ:
विदेशिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा…!

यही अन्तरासँगै उनी स्टेजमा देखिए। त्यसपछि सुरु भयो कन्दराको लाइभ इन्स्ट्रुमेन्टसहितको ‘कन्सर्ट’।

सुनिल थापा जो ब्यान्डका मुटु जस्तै हुन्। संगीत, रचना र कम्पोज सबै गर्नसक्ने बहुमुखी प्रतिभा हुन्‌ भन्दा फरक पर्दैन थापालाई। उनै थापाले सम्हालिरहेका थिए ड्रमसेट।

अविनास गायक असाध्य युवा छन् तर उनको मादलको तालले के युवा, के केटाकेटी, के वृद्ध सबैलाई जुरुक जुरुक बनाइदिन्छ। एल्डर्स पार्कमा पनि भयो यस्तै।

अविनासले मादलको मात्रै प्रस्तुति दिँदा पनि पार्क पूरै नाचिरहेको थियो। उनलाई फेरी मादल बजाउन दर्शकले आग्रह गरिरहे। पंकज र देवले गीतारबाट संगीत बोलिरहे।

विदेशी भूमिमा यो एउटा अद्भुत सांगीतक माहोल बनिरहेको थियो। विवेकले ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले…!’ ‘लेक कि हे माया…’ लगायतका गीत गाउँदा दर्शक उनीसँगै नाचिरहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad