प्रवास


काबुलको दूतावासमा सुरक्षा दिएका नेपालीलाई पक्राउ गरेर फर्काउँदै बेलायत

काबुलको दूतावासमा सुरक्षा दिएका नेपालीलाई पक्राउ गरेर फर्काउँदै बेलायत

काबुलबाट एयर लिफ्ट गरेर नेपालीसहितलाई बेलायत लगिँदै। तस्बिर : बम गुरुङ


नेपालखबर
चैत २२, २०७९ बुधबार १३:५४, काठमाडौँ

अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो राजदूतावासको सुरक्षामा लामो समय खटिएका नेपाली गार्डहरुलाई बेलायतले पक्राउ गरेर नेपाल फिर्ता पठाउने तयारी थालेको छ। 

बेलायतको प्रतिष्ठित पत्रिका द गार्जियनका अनुसार सन् २०२१ अगस्टसम्म काबुलमा बेलायती र क्यानेडियन दूतावास सुरक्षामा खटिएका नेपाली गार्डहरुलाई अहिले पक्राउ गरेर नेपाल डिपोर्ट गर्न लागिएको हो। 

तालिबान विद्रोहीहरूले राजधानी काबुलमा कब्जा जमाएपछि ११ जना नेपाली र २ जनाभारतीय सुरक्षा गार्डलाई काबुलबाट उद्दार गरी बेलायत पुर्‍याइएको थियो। 

बेलायत लगेकामध्ये केही सुरक्षागार्डले त्यहीँ स्थायी बसोबास अनुमति पाइसकेका छन्। बाँकीलाई पक्राउ गरेर डिपोर्ट गर्ने तयारी बेलायतले थालेको हो। 

बेलायतले नेपाली सुरक्षागार्ड ३७ वर्षीय बमबहादुर गुरूङसहितलाई फर्काउन लागेको हो। उनले १० वर्षभन्दा बढी समय अफगानिस्तानको काबुलस्थित विभिन्न पश्चिमा देशका राजदूतावासमा सुरक्षागार्डको काम गरेका थिए।

उनी काबुलमा तालिबानले सत्ता कब्जा गर्नुअघि बेलायत र क्यानेडियन दूतावासको सुरक्षा सुपरीवेक्षकका रुपमा कार्यरत थिए।

काबुलबाट उद्दार गरेर लगिएपछि उननले बेलायत स्थायी बसोबासका लागि आवेदन दिएर प्रक्रिया पनि थाले। बेलायत सरकारले सन् २०२२ को फेब्रुअरीमा उनको निवेदन स्वीकृत गर्‍यो। त्यसपछि बायोमेट्रिक गर्नुपर्ने खबर पनि उनलाई बेलायत सरकारले दियो। 

तर बेलायत बसोबासका लागि निवेदन स्वीकृत भएर अध्ययन भइरहेका बेला उनलाई बेलायतको अफगानी पुनर्स्थापना टोलीले अफगानिस्तानबाट गरिएको उद्दार सहयोग र सद्भाव मात्रै भएको भन्यो। उनलाई पठाइएको ईमेलमा अफगान नागरिक पुनर्स्थापना स्किमअन्तर्गत बेलायतमा बस्न गुरुङ योग्य नरहेको उल्लेख थियो।

त्यसपछि बेलायतको प्रहरीले गुरुङसहित अफगानिस्तानबाट उद्दार गरिएका अन्य नेपाली र भारतीयलाई पनि पक्राउ गरेर अध्यागमनको नियन्त्रणमा राखेका छन्।

‘मलाई पक्राउ गर्दा काममा जान तयार भएको थिएँ। बेलायत सरकारले मलाई गरेको व्यवहारले दुखित,’ उनले गार्जियनलाई भनेका छन्,‘काबुलमा दशौँ वर्ष बेलायती दूतावासका कर्मचारीको सुरक्षा गरेँ। हामीले त्यसक्रममा अपराध पनि गरेको होइन। अहिले पनि म बेलायतमै बसेर ब्रिटिश सैनिकमा काम गर्न चाहन्छु।’

गुरुङले बेलायती दूतावासको सेवा गरेको बदला आफूसहित अन्य नेपालीलाई पनि अप्रिल ११ खमा नेपाल डिपोर्ट गरिदिने खबर आएको सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .