बागमती


‘आँखा नदेख्नेले कसरी पढाउँछ’ भनेको त्यो दिन, पढाएकै कारण पुरस्कार पाएको यो क्षण

दृष्टिविहीन शिक्षिका अञ्जु धितालको संघर्ष
‘आँखा नदेख्नेले कसरी पढाउँछ’ भनेको त्यो दिन, पढाएकै कारण पुरस्कार पाएको यो क्षण

अञ्जु धिताल


सुनिता विष्ट
बैशाख २३, २०८१ आइतबार १६:५२, हेटौँडा

उमेरले ५ महिना टेक्दै थियो। काखमा लिएर खेलाउँदा, बोलाउँदा फर्किएर नहेर्ने, एकोहोरो हुने समस्या देखियो।

आफ्नी सानी छोरीमा यस्तो समस्या देखिएपछि ठूलो चिन्तामा परे- हरिप्रसाद धिताल र सरस्वती धिताल।

त्यसपछि सुरु भयो- छोरीको आँखा ठीक पार्न धामीझाँक्रीदेखि देवीदेवताको भाकलसम्म। तर जति गर्दा पनि बीसको उन्नाइस भएन। छोरीका आँखा झन्‌झन् साना हुँदै गए। आँखाको नानी घुमाउन पनि छाडिन्।

त्यसपछि गाउँका केही मानिसको सल्लाहमा सरस्वती छोरी लिएर काठमाडौँस्थित तिलगंगा अस्पताल पुगिन्। तर दुर्भाग्य! चिकित्सकले आँखाको नसा सुकिसकेकाले उपचार नहुने बताए। डाक्टरको यस्तो जवाफ सुन्नासाथ सरस्वतीलाई आफ्नै दृष्टि गुमेजस्तै भयो। वरिपरि अँध्यारो छायो।

तर वास्तविकता स्वीकार्नुको विकल्प थिएन।

समय बित्दै गयो। हरिप्रसाद र सरस्वतीले छोरीको नाम अञ्जु राखिदिए।

सुरुसुरुमा उनीहरूलाई आफ्नो सन्तान दृष्टिविहीन भएको कुरा बताउन निकै सकस पर्‍यो। तर बिस्तारै आफन्तहरूले थाहा पाउँदै गए। त्यसपछि भने सरस्वतीले मन अलि हलुंगो भएको महसुस गरिन्।

दुई/तीन वर्ष यत्तिकै बित्यो।

०००

वि. स‌ं. २०४६ मा बाराको जितपुर सिमरा उपमहानगरपालिका-१, पथलैयामा जन्मिएकी अञ्जु २०५१ सालमा गाउँमै रहेको दृष्टिविहीनहरू नै पढ्ने विद्यालयमा भर्ना भइन्। ब्रेललिपिमा उनले सो विद्यालयमा ५ वर्ष मात्र पढिन्।

यसपछि थप पढाइका लागि अञ्जु उपमहानगरपालिकाकै वडा नम्बर १५ मा रहेको श्री नीरा उच्च माध्यमिक विद्यालय गइन्। त्यहाँबाट जब कक्षा १२ उत्तीर्ण गरिन्, तब उनले बाहिरी आँखाले नदेखे पनि भित्री आँखाले संसारको उज्यालो देख्न थालिन्।

‘सानो हुँदा त साथीहरूले आँखा नदेख्ने भनेर गर्ने व्यवहारले निकै मन दुखायो’, बालापन स्मरण गर्दै उनी भन्छिन्, ‘धेरै रोएँ। जीवन कसरी बिताउने होला भन्ने सोचेर एकताका त मेरो पढाइ नै बिग्रिसकेको थियो। तर मैले हिम्मत हारिनँ।’

कक्षा १२ पूरा गरेपछि २०६४ सालमा अञ्जु वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भइन्। जहाँ उनले नेपाली विषय लिएर ३ वर्षे स्नातक तह पूरा गरिन्। 

अनि बनिन् शिक्षिका
२०७४ सालपछि त अञ्जुले आफ्नै उपमहानगरपालिका (जितपुरसिमरा-१४) मा रहेको श्री जनता माध्यमिक विद्यालयमा निजी स्रोतबाट शिक्षिकाको जागिर सुरु गरिन्। 

ब्रेललिपिमा आफूजस्तै दृष्टिविहीन बालबालिकालाई पढाउन पाउँदा उनलाई गर्वको महसुस भयो।

‘कहिले कति भाग्यमानी छु जस्तै लाग्थ्यो, कहिले कुन जन्मको पापले यस्तो भएर धर्तीमा आउन परेको होला भन्ने जस्तै लाग्थ्यो। तर थुप्रै उत्तरचढाव पार गरेर शिक्षिकाका रूपमा कक्षाकोठामा उभिन पाएँ, त्यसपछि भने गर्व लाग्यो। त्यसपछि दृष्टिविहीन हुन पर्‍यो भनेर कहिल्यै दुखी भइनँ।’

शिक्षिका बन्न पाउँदा अञ्जुको मन त भरियो, तर निजी स्रोतको शिक्षकलाई दिइने तलब सुविधाले गोजी भरिएन।

त्यसपछि उनले २ वर्ष एउटा एनजीओमा काम गरिन्। त्यस क्रममा उनले सुनसरीमा रहेको कोसी माध्यमिक विद्यालयमा पनि २ वर्ष पढाइन्। 

मनको एउटा कुनामा स्थायी शिक्षक भएर स्थापित हुने इच्छा यथावत् थियो। त्यसैले उनले सँगसँगै शिक्षक सेवा आयोगको तयारी पनि गरिरहेकी थिइन्। 

२०७९ सालमा अञ्जुको त्यो सपना साकार भयो। शिक्षक सेवा आयोगमा प्राथमिक तहमा पास भइन्। सोही वर्षको चैत २६ गतेदेखि सर्लाहीको हरिवन नगरपालिका-२, अत्रौलीमा रहेको श्री रामअवतार जनता माध्यमिक विद्यालयमा पढाउन सुरु गरिन्। 

लाइसेन्स प्रावि, पढाउने मावि
उक्त विद्यालयमा प्राथमिक तहका विद्यार्थीलाई पढाउन भनेर उनलाई खटाइएको थियो। तर हाल अञ्जु माध्यमिक तहका विद्यार्थीलाई पढाइरहेकी छन्। उनी अहिले कक्षा १० सम्मका विद्यार्थीलाई नेपाली विषय पढाउँछिन्।

‘साना बालबालिकालाई पढाउन अलि गाह्रो भएजस्तो भयो। पढाउन त सक्छु, नसक्ने होइन। धेरै लेखेरै अक्षर चिनाउन पर्ने भएकाले विद्यालयका प्रधानाध्यापक सरले नै माध्यमिक तहका विद्यार्थीलाई पढाउने अनुमति दिनुभयो’, उनले सुनाइन्, ‘ठूला कक्षाका विद्यार्थीलाई पनि सजिलै पढाउन सक्छु। त्यही क्षमता देखेर पनि होला सायद उहाँहरूले मेरो सजिलोका लागि यति कम्प्रमाइज गरिदिनुभयो।’

नपत्याइएकी शिक्षिका
शिक्षक सेवा आयोगमा नाम निकालेर आएकी उनलाई सुरुमा विद्यालयले राख्न आनाकानी नगरेको होइन। हरिवन नगरपालिकाको शिक्षा शाखाले उक्त विद्यालयमा कुरा गरिदिएको थियो। विद्यालयमा सहजै हाजिर गर्न पाएकी अञ्जुका लागि पढाउने वातावरण भने त्यति सहज बनेन, जति उनलाई लागेको थियो। 

तत्कालीन प्रधानाध्यापक निरञ्जन कार्की र वडाध्यक्षले सजिलै हाजिर गर्न अनुमति दिए पनि समाजले उनलाई पत्याएन।

‘दृष्टिविहीनलाई किन स्कुलमा ल्याएको? आँखा नदेख्नेले कसरी पढाउँछ? दृष्टिविहीन शिक्षकलाई त यस्तै नदेख्ने विद्यार्थी पढ्ने विद्यालयमा पो पठाउन पर्छ त! हाम्रा छोराछोरी अर्कै स्कुलमा लैजान्छौँ भन्नेसम्मका विरोध आए’, उनले तीतो अनुभव सुनाइन्। 

तर उतिबेला पनि सोही विद्यालयका तत्कालीन प्रधानाध्यापकको सहयोगले उनको पाइला डगमगाउन पाएन। नेपाल सरकारले नै जाँच लिएका बेला आँखा देख्नेहरूसँगको प्रतिस्पर्धा गरेर आएको शिक्षकमा खोट लगाउन नहुने भन्ने जवाफ अभिभावकहरूलाई दिएपछि बल्ल समाजले आफूलाई शिक्षिकाका रूपमा स्वीकारेको उनी बताउँछिन्। 

छड्के जाँच गर्न आउँथे सहकर्मी
मुखले एकथरी बोले पनि मानिसको व्यवहार भने अर्कै हुने गरेको अनुभव सँगालेकी छिन् उनले। कक्षाकोठामा पढाइरहँदा बेलाबेला सहकर्मीहरू नै अञ्जुको छड्के जाँच गर्न आउँथे। पढाउन सक्छ कि सक्दैन भनेर चियोचर्चा गर्थे। आँखा नदेखे पनि यस्तो व्यवहार अञ्जुले सजिलै महसुस गर्न सक्थिन्।

‘मैले पढाइरहँदा हल्ला गर्ने विद्यार्थीहरू ढोकामा मेरा सहकर्मी शिक्षक उभिएको थाहा पाएपछि चुप लाग्छन्। एउटै पाठ पढाउँदै गर्दा बेलाबेलामा प्रायः सबै जनाले मेरो क्षमता हेर्न आउनुहन्थ्यो,’ उनले भनिन्, ‘तर उहाँहरूले पढाउने भन्दा पनि मैले पढाउने तरिका मनपरेको र बुझेको विद्यार्थीहरूले प्रतिक्रिया दिन थालेपछि भने अहिले स्थिति सामान्य छ। सबैले सहायोग गर्नुहुन्छ।’

यसरी पढाउँछिन्
एउटा दृष्टिविहीनले सामान्य अवस्थाका विद्यार्थीलाई कसरी पढाउलान्? जो कसैलाई जिज्ञासा लाग्नु स्वभाविकै हो। 

ब्रेललिपिमा पढेर आएकी अञ्जुले विद्यार्थीका चार समूह बनाएकी छन्। हरेक समूहमा एक जना नेता (ग्रुप लिडर) ले चुनिएको हुन्छ। उसले साथीहरूले लेखेका कुरा पढेर सुनाउँछ। सोहीअनुसार अञ्जुले पढाउँछिन्। अञ्जुले बोलेकै भरमा विद्यार्थी कापीमा लेख्छन्। हाल न उनलाई पढाउन गाह्रो छ, न विद्यार्थीलाई पढ्न नै। 

उनी भन्छिन्, ‘सुरुसुरुमा जति कष्ट भोगियो। अब त्यस्तो भोग्न नपर्ला भन्ने लागेको छ। अहिले विद्यालयका शिक्षक, विद्यार्थीले मात्र होइन, सिंगो हरिवन नगरपालिकाले नै मलाई सहयोग गरेका छन्। मेरो क्षमताको कदर गर्दै हौसला दिएका छन्।’

भिन्न क्षमताको राष्ट्रिय पुरस्कार

शनिबार हेटौँडामा आयोजित भीम विराग संगीत कला प्रतिष्ठानले अञ्जुलाई ‘आजितसेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार’ प्रदान गर्‍यो। फरक क्षमताको भएर पनि शिक्षक सेवा आयोगको परीक्षा पास गरी शिक्षक बन्न सफल भएको भनी उनलाई पुरस्कार प्रदान गरिएको आयोजक बताउँछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .