संजिव गिरीले डेनमार्कको कोपनहेगनमा मेजन डी’ ब्रोल बेकरी संचालनमा ल्याएका छन्।
करिब १४ वर्षदेखि कोपनहेगनलाई आफ्नो कर्मभूमी बनाउँदै गिरीले लामो समयसम्म सुप्रसिद्ध आन्डर्सन बेकरीमा मुख्य बेकर र निर्देशकको रुपमा पनि काम गरेका थिए। गिरीले सन् २०२२ मा डेनमार्ककै सर्वश्रेष्ठ बेकर उपाधि जितेका थिए।
कोपनहेगनको सार्लोटनलुन्डमा खोलिएको डी’ ब्रोल बेकरीको उद्घाटन शनिबार (१७ फेब्रुअरी) मा डेनमार्ककालागि नेपाली राजदूत राम स्वार्थ राय र त्यहाँका मेयर माइकल फेंगर द्वयले गरे।
करिब ६० जना डेनिस र नेपाली उपस्थति रहेका समारोहलाई सम्बोधन गर्दै मुख्य अथिती राजदूत रायले भने, ‘नेपालीमुलका बेकरले डेनमार्कमा स्कान्डेनेभियनस्तरको बेकरी खोल्नु भएकोमा धेरै खुशी लागेको छ।’
मेजन डी’ ब्रोलमा डेनमार्कलागयत फ्रान्स र अन्य मुलुकका पारम्परिक पाउरोटि, बगेट, क्रोसान्, पेस्ट्रि, केक, कुकिज लगायतका ४० थरीका बिभिन्न बेकरी परिकार बिक्रिमा राखिएका छन्।
बेकरका रुपमा लामो अनुभवका साथसाथै थुप्रै अन्तर्राष्ट्रिय उपाधि बटुलिसकेका संजिव गिरीलाई २०२२ मा डेनमार्कका महारानी मार्गरेट द्वितियद्वारा मुलुककै सर्वश्रेष्ठ बेकर उपाधि प्रदान गरिएको थियो। उक्त उपाधि प्राप्त गर्ने गिरी हालसम्म एक्लो नेपाली हुन्।
गिरीले २०२० मा फ्रान्सको ले कर्डन ब्लुमा बेकरीसम्बन्धी उच्च शिक्षाका लागि एपी मोलर फाउन्डेशनद्वारा प्रायोजित छात्रवृत्ति पाएका थिए।
Shares
प्रतिक्रिया