जेनजी आन्दोलनका क्रममा झापाको इलाका प्रहरी कार्यालय, अनारमनीबाट लुटिएको हतियार र गोलीसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, कन्काई नगरपालिका-८ स्थित मिश्र टोलका तुलबहादुर थापा मगरको घरमा लागूऔषध र अवैध हतियार लुकाइराखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी लिएको थियो।
इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले खानतलासी गर्दा घरको पछाडि रहेको कुखुराको खोरभित्र लुकाइएको अवस्थामा प्लास्टिकको ड्रम फेला पारेको थियो। ड्रमभित्र लुकाइएको एउटा सीएफ ९८.९ एमएम पेस्तोल, एउटा म्याग्जिन र ४० राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको पेस्तोल र गोली सोही आन्दोलनका क्रममा प्रहरी कार्यालयबाटै लुटिएको पुष्टि भएको झापा प्रहरीले जनाएको छ। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कन्काई नगरपालिका–२२ वर्षीय सुजय राजवंशीलाई नियन्त्रणमा लिएको छ।
सुजयलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेका अर्का युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
Shares

प्रतिक्रिया