सुनको गहना चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले वैशाख २५ गते धनकुटाको धनकुटा नगरपालिका-७ स्थित मदन चोकमा बसिरहेकी ४० वर्षीया विष्णुकुमारी राईका गहना लुटेका थिए। उनीहरूले राईको घाँटीमा लगाएको एक तोला दुई आनाको सुनको सिक्री लुटेर लगेका थिए।
प्रहरीले अनुसन्धानका क्रममा सुनसरीको धरान उपमहानगरपालिका-८ स्थित एक होटलमा लुकिछिपी बसिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुलीको दुधौली नगरपालिकाका ३० वर्षीय दानबहादुर तामाङ, ३३ वर्षीय प्रेमलाल घिसिङ र ३८ वर्षीय राजु तामाङ रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले विभिन्न सुनका गहना, चोरीमा प्रयोग गरिएका बा. ८२ प ९५६४ र प्र. ३-०२-०१३ प ८००१ नम्बरका मोटरसाइकल नियन्त्रणमा लिएको छ। त्यस्तै, ६ वटा मोबाइल पनि बरादम गरिएको जिल्ला प्रहरी कार्यालय, धनकुटाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महताले बताए।
तीनै जनालाई जिल्ला प्रहरी कार्यालय, धनकुटाको हिरातमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए।
Shares

प्रतिक्रिया