प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न रहेको अभियोगमा एक भारतीयसहित ३ जनालाई पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेकाहरुकाे विवरण प्रहरीले साेमबार सार्वजनिक गरेकाे हाे।
पक्राउ पर्ने मध्ये एक भारतीय नागरिक प्रवेश अलीले आफ्नो मोबाइलबाट एक अर्ब ३६ करोड ८० लाख ४५ हजार ५ सय ८० रूपैयाँ ४ पैसा रकम बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ।
उनी ललितपुर महानगरपालिका–१३ एकान्तकुनामा बस्दै आएका थिए। भारत पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भएका ४१ वर्षीय अलीको हुण्डी कारोबारीसँग सम्र्पक रहेको खुलेको छ।
पक्राउ परेका दुई नेपालहरूमा काठमाडौं महानगरपालिका–६ बौद्ध जोरपाटी बस्दै आएका नरेश रेउले र भक्तपुर बस्दै आएका दिप्ती पोखरेल छन् । रेउलेको घर नेपालगंज उपमहानगरपालिका–२० मा रहेको तथा पोखरलेको घर सर्लाही ईश्वरपुर नगरपालिका–३ मा रहेको प्रहरीले जनाएको छ।
हुण्डी तथा अभौतिक मुद्रा समेतको अवैध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरेशलाई काठमाडौं महानगरपालिका(२६ सामाखुशीबाट पक्राउ गरेको थियो ।
सोधपुछको क्रममा उनले दिप्ती र प्रवेशको लागि यूएसडिटी खरिद बिक्री गर्ने गरेको खुलेको थियो । उनको सूचना अनुसार दिप्तीलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित रेडहनपुलबाट नगद १५ लाख ३० हजार रूपैयाँ सहित र प्रवेशलाई ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया