ad ad

अपराध


नक्कली शरणार्थी प्रकरण : अभियोग पुष्टि भएमा कति हुन्छ जेल र जरिवाना?

नक्कली शरणार्थी प्रकरण : अभियोग पुष्टि भएमा कति हुन्छ जेल र जरिवाना?

नेपालखबर
जेठ ११, २०८० बिहिबार १०:१४, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० जनाविरुद्ध पाँचवटा कसुरमा जिल्ला अदालत (काठमाडौं) मा मुद्दा दर्ता भइसकेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गराएको अभियोगपत्रमा उनीहरूविरुद्ध ठगी, राज्यविरुद्व कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुर लगाइएका छन्। 

अभियुक्त ३० जनामध्ये १६ जना पक्राउ परिसकेका छन् भने १४ जना फरार छन्।

काठमाडौंका विभिन्न हिरासतमा रहेका १६ जनामध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका सचिव एवं तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि छन्। 

अभियोग पुष्टि भए कति हुन्छ सजाय? 
अभियोग पुष्टि भएमा ठगी कसुरमा मुलुकी अपराध संहिताको दफा २४९ को खण्ड ३ (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने छ। 

यस्तै लिखत किर्ते कसुरमा अपराध संहिताको दफा २७६ को उपदफा ३ (ग) अनुसार सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुनेछ। 

यसैगरी राज्यविरुद्धको कसुरमा अपराध संहिताको दफा ५१ को उपदफा ४ (क) बमोजिम राष्ट्रहितविपरीत काम गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा भने थप ३ वर्ष कैद सजाय हुने व्यवस्था छ। 

यस्तै संगठित अपराध गरेको कसुरमा संगठित अपराध निवारण ऐनको दफा ९ अनुसार ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ। 

एकीकृत कसुर (एक व्यक्तिले एकभन्दा बढी कसुर गरे) मा अपराध संहिताको दफा ४३ ले कसुरमध्ये सबैभन्दा बढी हुने सजाय र त्यसपछिको दोस्रो बढी सजाय हुने कसुरको आधा सजाय थप हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .