ad ad

समाज


नरेन्द्रको साथमा भेटिएको थियो बालकृष्णलाई जोगाउन केशव दुलालको बयान फेर्ने कागज

नरेन्द्रको साथमा भेटिएको थियो बालकृष्णलाई जोगाउन केशव दुलालको बयान फेर्ने कागज

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८० बुधबार १९:४५, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउने गरी बनाइएको योजनासहितको कागज प्रहरीले उनका निजी सचिव नरेन्द्र केसीको साथबाट बरामद भएको खुलेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा दर्ता गराएको अभियोग पत्रमा हिरासतमै रहेका बेला केसीको साथबाट बालकृष्णलाई जोगाउने गरी बनाइएको योजनासहितको पत्र भेट्टाएको उल्लेख छ।

‘हिरासतबाटै नरेन्द्र केसीको साथबाट बरामद कागजमा केशव दुलालको बयान सच्याउनु पर्यो, नभए मन्त्रीज्यूसमेतको मुद्दा जान सक्छ। एक हप्ताको म्याद थप भएको अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनै पर्छ’, पत्रको ब्योहारबारे अभियोगपत्रमा भनिएको छ।

उता खाँणको घरबाट बरामद च्यातिएको पत्रमा सचिव टेकनारायण पाण्डेले नरेन्द्र केसीलाई सम्बोधन गरेको भेटिएको छ। 

‘बालकृष्ण खाँणको घरबाट बरामद च्यातिएको कागजमा नरेन्द्रजी, ओली बा (केपी शर्मा ओली र देउवा (शेरबहादुर देउवा) ले प्रधानमन्त्रीलाई भनेर जाहेरीमा मुख्य प्रतिवादीहरुलाई मात्र मुद्दा दायर गर्ने अब थप आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रुप लिन्छ नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ भनी टेकनारायण पाण्डेले लेखि पठाएको कागज परीक्षण गर्दा निजकै रहेको परीक्षण प्रतिवेदनबाट पुष्टि हुन आएको देखिन्छ’, अभियोगपत्रमा अगाडि भनिएको छ, ‘टेकनारायण पाण्डे हिरासतमा रहँदा बालकृष्ण खाँणसँग पत्रको माध्यमबाट मुद्दालाई प्रभावित बनाउने सूचना आदानप्रदान भएको प्रतिवादी बालकृष्ण खाँणलाई सानु भण्डारी र केशवप्रसाद दुलालको इन्कारी बयान गराउन लिखित सूचना पठाएपछि बालकृष्ण खाँण प्रतिवादी नरेन्द्र केसीलाई प्रतिवादी आङटावा शेर्पामार्फत १ करोड दिएकोमा प्रतिवादी सानु भण्डारीकोतर्फबाट निजको दाजु राजु भण्डारीलाई आङटावा शेर्पाले भरपाई गरी ३० लाख दिएको देखिएको छ।’

उक्त रकम लेनदेन भएको देखिँदा मुद्दा कमजोर हुने चिन्ता पनि उनीहरुले गरेको अभियोगपत्रमा उल्लेख छ।

‘त्यसो गर्दा प्रस्तुत मुद्दा कमजोर पार्ने र आफू र बालकृष्ण खाँणसमेत अन्य प्रतिवादीहरुलाई कसुर अपराधबाट बचाउने कार्य गरेको समेतका आधार प्रमाणबाट यी प्रतिवादी टेकनारायण पाण्डे अर्का प्रतिवादी बालकृष्ण खाँणसँग प्रत्यक्ष रुपमा मिलेर प्रतिवादी केशवप्रसाद दुलाल, नरेन्द्र केसी, आङटावा शेर्पा, सानु भण्डारीसमेतलाई प्रत्यक्ष रुपमा परिचालन गरी प्रस्तुत संगठित ठगी, लिखत कीर्ते एवम् राष्ट्रहित प्रतिकूल काम गरी आपराधिक समूहका अन्य प्रतिवादीलाई परिचालन गरी जाहेरवालासमेतबाट संकलन गरिएको ठगीको रकम बाँडफाँड गर्ने, लिनेखाने काममा संलग्न रहेको देखियो।’

अभियोग पत्रमा सचिव पाण्डेले गृहमन्त्रालयका पत्रहरुको पनि दुरुपयोग गरेको अभियोग पत्रमा उल्लेख छ। ‘यी प्रतिवादी टेकनारायण पाण्डेले गैरभुटानी शरणार्थी अर्थात् आमनेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आवद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कलीको प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करौडौं रकम उठाउन लगाई पीडितहरुलाई हानी नोक्सानी पुयाई ठगी गरी लाभ लिई प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसूर गरेको पुष्टि हुन आयो’, अभियोगपत्रमा भनिएको छ। 

बालकृष्ण खाँणबाट बरामद भएको ‘नरेन्द्रजी, ओली वा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र अब थप आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रुप लिन्छ नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ’ भनी लेखिएको कागज फेला परेको छ।

यस्तै, अर्को पत्रमा लेखिएको छ, ‘दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउन पर्यो। नभए मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ, अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन। मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग पनि लेनदेनको विषयमा कुनै कुराकानी नै भएको छैन। १ हप्ताको म्याद थप भएको छ, यही अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनुपर्छ। पार्टी भित्र र विशेषतः आफ्नै गुटका नेताहरु मन्त्री किन अहिलेसम्म नल्याएको भनेर फलोअप गरी रहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .