ad ad

अपराध


नेपालीका बैंक खाता मासिक १० हजारमा भाडामा लिएर चिनियाँको ठगी धन्दा

नेपालीका बैंक खाता मासिक १० हजारमा भाडामा लिएर चिनियाँको ठगी धन्दा

नेपालखबर
चैत १५, २०७९ बुधबार २१:२२, काठमाडौँ

काठमाडौंमा ठगी आरोपमा ९ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरुसँगै ठगीमा संलग्न रहेको आरोपमा १० जना नेपाली पनि पक्राउ परेका छन्। 

उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका १० जनालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। 

पक्राउ पर्नेहरु दोलखाको शैलुङगेश्वर गाउँपालिका–३ का ४६ वर्षीय बुद्धिराज श्रेष्ठ, नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २९ वर्षीय इन्द्र तामाङ, सोही गाउँपालिका ६ का ३६ वर्षीय राजकुमार लामा, काठमाडौं बूढानीलकण्ठ नगरपालिका–२ का २५ वर्षीय प्रयास भण्डारी, दोलखाको बैतेश्वर गाउँपालिका–२ का २६ वर्षीय अर्जुन श्रेष्ठ रहेका छन्। 

यस्तै रामेछापको उमाकुण्ड गाउँपालिका–४ की ३४ वर्षीया रविना सुनुवार, लमजुङको दुधपोखरी गाउँपालिका–६ की ३४ वर्षीया सुनिता गुरुङ, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ की २२ वर्षीया कृष्टिना भनिने जमुना गोले, उदयपुरको त्रियुगा नगरपालिका–११ की १९ वर्षीया अनिता मगर र गोरखाको चुमनुब्री गाउँपालिकाकी २० वर्षीया अनु गुरुङ छन्। उनीहरुको खातामार्फत चिनियाँले ठगी गरेको खुलेको छ। 

केहीलाई भने कर्मचारीका रुपमा खटाएको पाइएको छ। खाता प्रयोग गरिएका नेपालीले चिनियाँले अनलाइन ठगीबाट जम्मा गर्न लगाएको रकम चेक र एटीएम मार्फत निकालेर चिनियाँलाई बुझाउने गरेको पाइएको छ। अर्जुन रकम जम्मा गर्न बढी खट्ने भएकाले उनलाई भने स्कुटरसमेत किनिदिएका थिए। 

घटनाबारे विस्तृत अनुसन्धान बाँकी रहेको प्रहरीले जनाएको छ।

चिनियाँ नागरिकहरुमा इजे ३४४५२७४ नम्बरको राहदानी वाहक ३३ वर्षीय हाङ हुवानरुङ, इजे ६८४३५५२ नम्बरको राहदानी वाहक ३६ वर्षीय छु फुक्सिङ, इएफ ९६०२९८४ नम्बरको राहदानी वाहक ३४ वर्षीय लान छिङहुई, ४० वर्षीय सि गुओ ई, २९ वर्षीय सि सुहाङ डी, ३१ वर्षीय ग्वो मिङ, ३१ वर्षीय इहो पिङ भिङ, ३० वर्षीय छिन दुर लिन र इसी ०१६७२३६ नम्बरको राहदानी वाहक ३९ वर्षीय लि जिआन हाङ छन्। 

पक्राउ परेका व्यक्तिबाट  विभिन्न सामान पनि बरामद भएको छ। ल्यापटप १२ थान, मोबाइल ७७ थान, सिमकार्ड ७४ थान, राहदानी ६ थान, डेस्कटप २ थान,  राउटर ४ थान र ४ लाख १ हजार ८८० नेपाली रुपैयाँ बरामद भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

बिना लगानी बिजेनसको प्रलोभन, मुनाफाको खोजिमा फसे नेपाली 
अनलाइन विजनेस गर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज कुमार केसीले बताए। 

उपत्यका अपराध अनुसन्धान कार्यालयमा एक जनाले उजुरी गरेपछि ठगीको पटाक्षप भएको हो। ती पीडितको मोवाइलमा सुरुमा अनलाइन विजनेसका सम्बन्धमा वाट्सएपमा म्यासेज आयो। भनिएको थियो– 'तपाईले लगानी गर्नु पर्दैन। हामीले सिकाउँछौं सबै कुरा। तपाईले त्यसबापत ३० प्रतिशत पाउनुहुन्छ।’

बिना लगानी ३० प्रतिशत कमाउने कुराले उनी हौसिए। त्यसपछि उनलाई एउटा च्याट ग्रुपमा जोडियो। त्यहाँ उनलाई वेवसाइडको नाम दिए। त्यो वेवसाइड चिनियाँ नागरिकले चलाउँथे। 

युजरनेम लगिन र पासवर्ड पनि उनलाई दिए। अनलाइन सामान खरिद गर्नका लागि चिनियाँले भनेको खातामा रकम जम्मा गर्नुपर्थ्यो। त्यसका लागि चिनियाँले केही व्यक्तिका खाता भाडामा लिएका थिए। खाता चलाए वापत मासिक १० हजार रुपैयाँ दिएको पाइएको छ। 

अनलाइन सामान खरिद गर्न भन्दै विभिन्न व्यक्तिले रकम जम्मा गर्थे। त्यो रकम नेपालीको खातामा जम्मा हुन्थ्यो। तर नेपालीले रकम भने निकाल्न पाउँदैनथे। उनीहरुलाई मासिक १० हजार रुपैयाँ भने दिइन्थ्यो। 

अनलाइनमा सिकाइसकेपछि र लगानी वापत आएको रकम भन्दै देखाएपछि उनी पनि लगानी गर्न हौसिए। सुरुमा उनले ५० हजार रुपैयाँ लगानी गरे। त्यसवापत आएको प्रतिफल भन्दै उनलाई १५ हजार रुपैयाँ दिइएको थियो। 

त्यसपछि उनी लगानी थप गर्दै गए। पछि ४६ लाख लगानी गरेपछि प्रतिफल रकम  नआएपछि उनले फसेको थाहा पाए र प्रहरीको सम्पर्कमा पुगे। 

चिनियाँ नागरिकले यसरी नेपालीलाई ठगी गर्नका लागि एप बनाउने, समूहमा जोड्ने र खरिद बिक्री भएको भ्रममा पार्ने गरेको पाइएको एसएससपी केसीले बताए। उनीहरुले ग्राहकलाई भ्रममा पार्नका लागि आफै सप्लायर्सदेखि ग्राहकसम्म बनेको पाइएको छ।

तर त्यसबारेमा नेपाली लगानीकर्तालाई थाहा थिएन। उनीहरुले भने अनलाइनबाट लगानी गरेको, ग्राहकले खरिद गरेको त्यसवापत नाफा आएको देखाइएको थियो। 

पछि लगानी फसेको थाहा पाएपछि नेपालीलाई चिनियाँ नागरिक नै प्रहरी बनेर म्यासेज गर्ने र डर देखाउने गरेको पनि खुलेको छ।

‘यसरी म्यासेज गरेपछि डराउँछन् र प्रहरीसमक्ष उजुरी गर्न पुग्दैनन् भनेर म्यासेज पठाउँदा रहेछन्’, एसएसपी केसीले भने, ‘ठगिएका कतिपयले यही कारण उजुरी गरेका छैनन्। अब उजुरी गर्नेको संख्या बढ्न सक्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .