अपराध


अपहरण गरी २५ लाख फिरौती रकम लिने तीन पाकिस्तानी पक्राउ

अपहरण गरी २५ लाख फिरौती रकम लिने तीन पाकिस्तानी पक्राउ

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १९:२०, काठमाडौँ

काठमाडौंमा बसेर एक व्यक्तिलाई अपहरण गरी २५ लाख रुपैयाँ फिरौती लिने तीन पाकिस्तानी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बूढानिलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैन रहेका छन्।

प्रहरीका अनुसार उनीहरुले सामाजिक सञ्जाल मार्फत वैदेशिक रोजगारीको लागि क्यानडा जान नेपालबाट सजिलो हुन्छ, सबै प्रक्रिया काठमाडौंमा नै पुरा गर्नु पर्छ भनि पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई पाकिस्तानबाट भिजिट भिसामा नेपाल पठाइ ठमेलस्थित होटलमा बसालेका थिए ।

यही पुस २४ गते बायोमेट्रिक लगायतका प्रक्रिया गर्न होटलबाट ट्याक्सीमा राखी बूढानीलकण्ठस्थित भाडाको घरमा पुर्याएर आँखामा पट्टी बाँधी हातखुट्टा प्लाष्टिकको डोरीले बाँधी बोल्न कराउन नदिई बन्धक बनाएका थिए। त्यसपछि पाकिस्तानमा रहेका पीडितका भाइलाई अब मेरो क्यानाडाको लागि फ्लाईट छ, ३० घण्टा मोबाइल अफ हुन्छ, सम्पर्क हुँदैन भन्ने म्यासेज पठाउन लगाएर, ३० घण्टा पछि पुनः म क्यानाडा पुगेँ, इमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्र प्रवेश दिन्छ भन्ने म्यासेज पठाउन लगाए। 

दाजुको म्यासेज आएपछि पीडितका भाइले पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपियाँ र २४ हजार दिरामसमेत गरी जम्मा २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम बुझाए पश्चात पीडितलाई पुस २६ गते राति ट्याक्सीमा राखी सिनामंगल स्थित सडकमा पाकिस्तान फर्कनु भनी छाडि फरार भएका थिए। पीडितले पर्यटक प्रहरीमा घटनाका सम्बन्धमा निवेदन दिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी परिसर काठमाडौंसँ समेत समन्वय गरी संलग्न व्यक्तिहरूको खोजतलास भएको थियो। 

सो क्रममा घटनामा संलग्न रहेका व्यक्तिहरूलाई घटनामा प्रयोग गरेका दसीका सामान सहित पुस २८ गते बूढानीलकण्ठ नगरपालिका–४ स्थित भाडाको घरबाट पक्राउ गरेको थियो। 

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २११ अपहरण गर्न नहुने र २१२ शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त, महाराजगंज पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad